
काठमाडौं— नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नागरिकता विधेयकको प्रमाणीकरणबारे भारत भ्रमणसँग जोडेर टिका टिप्पणी गर्नु गलत भएको जिकिर गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण, नागरिकता विधेयक लगायतका विषयमा अन्तरसंवाद कार्यक्रममा महासचिव गुरुङले सदनले दुई/दुई पटक पारित गरेर पठाइसकेपछि प्रमाणीकरण गर्नुको विकल्प नभएको बताए । उनले भारत भ्रमणको समयमा नै प्रमाणीकरण गर्नुपर्ने भएकाले संयोग मात्र भएको स्पष्टीकरण दिए ।
उनले भने ‘नागरिकता विधेयकको सन्दर्भमा वैधानिक र कानुनी रूपले प्रमाणीकरण गर्नुको अर्को कुनै विकल्प थिएन । सदनले दुई दुई पटक पारित गरेर पठाइसकेपछि त्यो पारित गर्नुको विकल्प देखिदैन । भारत भ्रमणको समयमा प्रमाणीकरण भएकोले कतिपयले भारत भ्रमणसँग जोडेर टिकाटिप्पणी गरे तर त्यो संयोगको कुरा मात्र हो ।’
उनले विधेयक प्रमाणीकरण संविधानसँग सम्बन्धित भएकाले बहस गर्न आवश्यक नरहेको बताए ।
संविधान निर्माण गर्दा दलका कोही नेताले विमति नराखेको भन्दै अब विरोध गर्नुको कुनै औचित्य रहेको उनको भनाइ छ ।
उनले भने, ‘यो २०७२ सालको संविधानमा नै व्यवस्था भएको कुरा हो । यो संविधानसँग जोडिएको कुरा हो । संविधान निर्माण गर्दा दलका कोही नेताले विमति राख्नुभएन । नागरिकता विधेयक सम्बन्धी अन्तरवस्तुको बहस गर्नुको औचित्य देख्दिन किनकी ठीक भएनि नभएपनि संविधानसँग सम्बन्धित छ ।’