
ललितपुर— उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा मौलिकता र न्यायको संस्कृति लोप भएर व्यक्तिवादी संस्कृति हावी हुँदै गएको बताएका छन् ।
ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा उनले समाजमा व्यक्तिवादी र भ्रष्टाचारको संस्कृति हावी हुँदै गएको बताए । श्रेष्ठले संविधान अनुसार समाजवाद उन्मुख संस्कृति र समृद्धिको लक्ष्य पूरा गर्न भ्रष्टाचारको संस्कृतिलाई हटाउने अभियान अघि बढाएको पनि प्रष्ट पारे ।
उनले भने, ‘अहिले हाम्रो यस्तो राम्रो एकता, मौलिक संस्कृति एकातिर छ भने अर्कोतिर भ्रष्टाचारको संस्कृतिले पनि हामीलाई गाँज्न थालेको छ । पहिला यो संस्कृति थिएन । आफ्नो मौलिकता र न्यायको संस्कृति लोप भएर जाने र व्यक्तिवादी संस्कृति हावी हुँदै गएको छ र भ्रष्टाचारको संस्कृति पनि हावी हुँदै गएको छ । त्यसकारण अहिले हाम्रो संविधानले भने अनुसार समाजवाद उन्मुख संस्कृति र समृद्धिको लक्ष्य पूरा गर्न भ्रष्टाचारको संस्कृतिलाई पनि हटाउन विरोधी अभियान अघि बढाउँदैँ छौ ।’
मन्त्री श्रेष्ठले सरकारले भ्रष्टाचारलाई हटाउँदै सुशासन कायम गरेर देशलाई समृद्ध बनाउने एउटा मात्रै उद्देश्य लिएको भन्दै त्यसको लागि देशका सबै जनताले स्वदेशमा नै रोजगारीको सिर्जना गर्न सरकार दृढ रहेको बताए ।
उनले आधुनिक संस्कृतिको नाममा नक्कल गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै अहिलेको समाज आफ्नो भाषाभन्दा अरुको भाषा सिकाउँदा गर्व गर्ने समाजको रुपमा विकसित हुँदै गएको बताए ।