काठमाडौं— देशभर तापक्रम बढेसँगै तराईमा तातो हावा चल्ने सम्भावना रहेकाले मानिसहरूलाई घरबाहिर ननिस्कन मौसमविद्ले सुझाव दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी पाँच दिनसम्म तराईमा तातो हावा चल्ने तथा लु लाग्ने सम्भावना देखिएको जानकारी दिएको हो ।
‘आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने देखिन्छ’, बुलेटिनमा भनिएको छ,‘देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्न सक्ने सम्भावना रहेकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’
तातो हावा तथा लुबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने उल्लेख गर्दै महाशाखाले सोबाट बच्न उपाय अपनाउन तथा घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।