News Griha :: न्यूजगृह
एमालेले प्रधानमन्त्रीले भारत भ्रमणमा दिएको अभिव्यक्तिप्रति संसद्मा जवाफ माग गर्ने

काठमाडौं प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा गैर जिम्मेवार र राष्ट्रहित विपरित अभिव्यक्ति दिएकोप्रति संसद्मा जवाफ माग गर्ने भएको छ ।

शनिबार बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएकोप्रति संसद्मा जवाफ माग गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा सञ्चारकर्मीसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिएका थिए ।

अहिले प्रधानमन्त्रीको सो अभिव्यक्तिको विरोध भइरहेको छ । संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भरत भ्रमणका क्रममा देशहितको कुनै विषय उठान गर्न नसकेको बताए । उनले भने, ‘फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा त्यो बाटो दिए नेपालको भूमिसम्म दिन तयार छौँ भन्ने प्रकारको यस्तो गैर जिम्मेवार, राष्ट्रहित विपरित, राष्ट्रघातका कुराहरू किन त्यस्ता अभिव्यक्ति दिनुभयो ।त्यसले देशको गरिमामा आँच आएको छ । सिंगो नेपाली जनताको शिर निहुरिएको छ । यी सबै विषय हामीले सघन ढंगले सदनमा उठाउँछौँ । प्रधानमन्त्रीसँग जवाफ माग्छौँ ।’

उनले प्रधानमन्त्रीले भारत भ्रमणअघि संसद्मा उठान गर्ने भनेका विषयहरू किन उठाउन नसकेको भन्ने प्रश्न गर्ने बताए। प्रमुख सचेतक गिरीले प्रधानमन्त्रीको भारत भ्रमण निराशाजनक भएको र भारत भ्रमण तीर्थाटन जस्तो भएको बताए । उनले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच भएको बताए । 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  २०:१४
Weather Update