काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा सीमा समस्या समाधानका लागि गम्भीर कुराकानी भएको बताएका छन् ।
चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग सीमा समस्या समाधानका लागि भारत सरकार समेत गम्भीर भएको दाबी गरे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन मै सीमा लगायतका थाँति रहेका सबै समस्या समाधान गरिनेछ भनेर प्रष्ट पारेको भन्दै उनले भने ‘भारतीय प्रधानमन्त्रीले लगायतका थाँति रहेका सबै समस्या समाधान गरिनेछ भन्ने भावना स्पष्ट ढंगले व्यक्त गर्नु भएको छ । धेरै समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धमा आएको यो सकारात्मक अभिव्यक्तिबाट हामी उत्साहित भएका छौं ।’
पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले नेपाल भारत पारवहन सन्धि, पेट्रोलियम पूर्वाधार निर्माण सम्बन्धी समझदारी, दोधारा चाँदनीमा एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाहको निर्माण सम्बन्धी समझदारी पत्र, ८ सय ८० मेगावाट जलविद्युत परियोजना निर्माण सम्बन्धी समझदारी लगायत सातवटा समझदारी पत्रमा हस्ताक्षर भएको पनि जानकारी दिए ।
गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा ऊर्जा ब्यापार सम्झौता लगायत विभिन्न सम्झौता तथा समझदारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले प्रतिनिधिमण्डलसँग र वान अन वान पनि भेटवार्ता गरेका थिए । त्यस्तै उनले भारतको इन्दौरमा फोहोर व्यवस्थापन प्रणालीको पनि अवलोकन गरेका थिए । प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेपाली समुदायसँग भेट गर्नुका साथै भारतका निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेटवार्ता गरेका थिए ।
उनी शनिबार साँझ साढे ६ बजे नेपाल फर्किएका हुन् ।













