News Griha :: न्यूजगृह
भारत भ्रमण सफल र परिणाममुखी रह्यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको बताएका छन् ।

भारतको ४ दिने औपचारिक भ्रमण गरी शनिबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बताउन पनि भ्रमणले महत्वपूर्ण योगदान पुर्‍याएको बताए ।

उनले विगतमा थाँति रहेका विषयहरूलाई पनि सम्बोधन हुने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त कुराकानी भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बनाउन यस भ्रमणले योगदान गरेको छ । भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग खुलस्त रुपमा कुराकानी भई विश्वासको वातावरण सृजना भएको छ भने थाँति रहेका विषयलाई सम्बोधन गर्न सकिने विश्वासको राम्रो आधार तयार भएको  छ । नयाँ आम निर्वाचन पश्चातको पहिलो विदेश भ्रमणको रुपमा रहेको यो भारत भ्रमण मैले विगतका भ्रमणभन्दा फरक पाएको छु । सारभूत रुपमा यो भ्रमण परिणाममुखि रहेको छ । र, भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत गरेको छ ।’

उनले भारत भ्रमण भविष्यका लागि पनि मार्गदर्शनको रुपमा रहने जिकिर गरे । 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १९:३१
Weather Update