
काठमाडौं— नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन् ।
शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलनमा उनले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताएका हुन् ।
‘गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । जनतामा जाने हो,’ आफ्नो आलोचना गर्ने महामन्त्री गगन थापालगायत नेताहरूलाई लक्षित गर्दै देउवाले भने, ‘गाली गरेर कहाँ पार्टी बन्छ । लडाइँ गर्ने हो ?’
उनले सभापतिको रूपमा यो नै आफ्नो अन्तिम कार्यकाल रहेको बताए । ‘अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।’
उनले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पारे ।