News Griha :: न्यूजगृह
एमाले सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले गरेन : अध्यक्ष ओली 

काठमाडौं— नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले पनि गर्न नसकेको बताएका छन् । 

अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपालः सुखी नेपाली’ भन्ने आँट कुनै पनि सरकार र प्रधानमन्त्रीले गर्न नसकेको जिकिर गरे । 

‘हामी सरकारबाट हटेपछि समृद्ध नेपालः सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता हाम्रा विपक्षहरू कसैले पनि समृद्ध नेपाल भन्ने आँट गर्दैन । सुखी नेपाली भन्ने आँट गर्दैन,’ उनले आक्रोश पोखे, ‘ह्वाट दे वान्ट ? समृद्ध नेपाल भन्ने जसको आँट छैन । भन्न सक्दैन ।’ 

पार्टीको विज्ञान तथा प्रविधि विभागले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा उनले कुनै व्यक्ति नभइ सिंगो समाजलाई माथि उठाउनका लागि आफूहरूले समृद्धिको एजेण्डालाई अघि बढाएको तर्क समेत गरे । 

ढिलो होइन, छिटो विकास गर्नका लागि आफूहरूले समृद्धिको एजेण्डालाई अघि बढाएको पनि अध्यक्ष ओलीको भनाइ छ । 

अध्यक्ष ओलीले गरिबी छिटो अन्त्य हुने गरी विज्ञान र प्रविधिको प्रयोग गर्न जरुरी रहेको समेत बताए । 

विकास, निर्माणको कामलाई अघि बढाउनका लागि पनि गरिबी अन्त्य हुन आवश्यक भएकाले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले जोड दिएर काम गर्न आवश्यक रहेको उनले स्पष्ट पारे । 

सम्पूर्ण जनतालाई विकास, निर्माणको प्रक्रियामा सहभागी गराउन पनि नेपालले विज्ञान र प्रविधिको प्रयोगमा ध्यान केन्दित गर्नुपर्ने उनको भनाइ छ । उनले कृषि उत्पादनलाई स्वस्थ बनाउने कुरामा पनि प्रविधिलाई उपयोग गर्नुपर्ने बताए । 
 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १६:१३
Weather Update