News Griha :: न्यूजगृह
अनियमिततामा दोषी ठहरिए माओवादीकै नेता भएपनि कारबाही  गर्छु : गृहमन्त्री श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं— उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन् । 

शनिबार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलामा उनले स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही हुने बताए । 

उनले आफू राम्रो काम गरेँ भनेर विश्राम गरेर नबस्ने बताए । सुशासनको बाधकका रूपमा जुनसुकै पार्टीको नेता पनि भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न पछि नहट्ने उनको भनाइ छ । 

उपप्रधानमन्त्री श्रेष्ठले आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका नेताहरू पनि भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने कारबाही गर्न पछि नहट्ने र त्यो बेला आश्चर्यमा पर्न आवश्यक नरहेको बताए । उनले कसैले बढुवा, सरुवाको निम्ति अनियमितता गरेर रकम दिने र लिनेलाई नै जेल हाल्ने बताए । 

‘आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टीको माओवादीको कोही पर्ला, भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला । त्यो छुट दिइने छैन,’ उनले भने । 

उनले आफू सयौँपटक चुनाव हार्न तयार रहेको तर, निष्पक्षता र संवैधानिक मूल्य मान्यता बिर्सिन नसक्ने बताए । 
 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १५:५९
Weather Update