काठमाडौं— राजु परियार– लोकदोहोरीका ‘वादशाह’ । गायनको शिखर चुम्दै, तर, रक्सीको लतमा डुब्दै । ‘छन्’ होइन ‘थिए’ रक्सीको लतमा । गायनमा त भन्नै पर्दैन, अहिले उनी कुन स्थानमा छन् ।
राजु र रक्सी
गायन चर्चित बन्यो, जीवनशैली अस्तव्यस्त । यस्तै थियो उनको दैनिकी । एकातिर लोभलाग्दो चर्चा र व्यस्तता, अर्कोतिर आफ्नै व्यक्तिगत समस्याहरू । यस्तैमा राजुले मन भुलाउन रक्सीलाई साथी बनाए ।
उनलाई नजिकबाट चिन्नेहरू भन्छन्– राजु रक्सी नखाइ गीत गाउनै नसक्ने अवस्थामा पुगेको थियो ।
तर, राजु भन्छन्, ‘सबैले देख्नेगरी त कहिल्यै नि पिइनँ । तर, म त्यसताका म अल्कोहल एडिक्ट भइसकेको थिएँ । दुखले गर्दा पिएँ । सुखमा रमाइलो गर्न पिएँ ।’
‘गुरुङ समाजमा हुर्केको म, कतिपय अवस्थामा संस्कारका लागि पिएँ । जे होस्, कुनै न कुनै बहानामा पिइरहेँ । त्यही चिजले मलाई एडिक्ट बनाइदियो,’ उनले थपे ।
डाक्टरले अन्तिमपटक राजुलाई भनेका थिए- जति रक्सी खान मन छ खाए हुन्छ । अब ६ महिनाभन्दा तिम्रो बाँच्ने समय छैन ।
रक्सी खान हुन्न, राजुलाई थाहा थियो । तर, लत बसिसकेपछि झट्टै छाड्न उनलाई गाह्रो भयो । परिवारले उनलाई रक्सीको लतबाट छुटाउन डाक्टरसँगै लामा झाँक्रीलाई देखाएकै हुन् । भाकल गरेर दोबाटोमा कुखुरा काटेकै हुन् । तर, अहँ ! राजुले रक्सी छाड्ने संकेत देखिएन ।
जब डाक्टरले राजुलाई ६ महिनाको समय दिएर मन लागेको रक्सी खान छुट दिए, तब भने उनी झस्किए ।
राजुको मनले भन्यो– म त मरुँला, मसँग जोडिएका मेरा परिवारको के होला ? म विरक्तिनुपर्ने कारण नै के छ र ? यतिका धेरै स्रोताको माया पनि त छ मसँग । मैले रक्सी छाड्नुपर्छ ।
केही गरेर छाड्न नसकेको रक्सीको लत आफ्नै मनले आफैँलाई सम्झाएपछि तत्कालै छुट्यो । राजुले रक्सी छाडेको ५ वर्ष भइसक्यो । ‘मलाई अझै पनि कतिले रक्सीको लतमै डुब्ने गरेको आरोप लगाउने गर्छन् । म अहिले मदिराका लतमा छैन । त्यसो त गायकहरूलाई रक्सीसँग जोडेर खुब तुलना गर्दै आएका इतिहास पनि छ । नारायणगोपाल, भक्तराज आचार्य, अरुण थापा लगायत दिग्गज गायकहरूलाई पनि मदिराको लतमा फसेको भनेर आरोप लगाइन्छ । वास्तवमा मैले जुन विगत भोगेँ त्यो साँच्चै बिर्सनलायक चाहिँ छ । अहिलेको पुस्ताले हामीबाट यस्ता कुरा नसिकुन्,’ उनले लामै प्रष्टीकरण दिए ।
राजुको काठमाडौं आगमन
किसिमकोटमा चरी नाचेको बोलको गीत रेकर्ड गराएर राजु परियारले लोकदोहोरीको व्यावसायिक गायन यात्रा सुरु गरेका थिए । २०५६ सालमा लमजुङबाट कामको खोजीमा सपनाको शहर काठमाडौं छिरेको युवावयको राजु परियारसँग खास ठूला सपना भने थिएनन् । सानोमा लाहुरे बन्ने सपना देख्ने राजु तौल कम भएका कारण लाहुरे बन्न सकेनन् । दलित परिवारमा हुर्केका राजुको पारिवारिक स्थिति कमजोर थियो । गाउँको रोधी र रत्यौलीमा गाउँदै हिँड्ने राजु जिल्लास्तरमा लोकदोहोरी प्रतियोगितामा भाग लिन थालेका थिए । त्यस्तैमा उनलाई एक अग्रज दाइले काठमाडौं गएर गीत गाए भविष्य राम्रो हुन सक्ने सुझाएका थिए । त्यसैले उनी काठमाडौं हानिए ।
काठमाडौं आएको केही दिनमै घरबाट बोकेर आएको पैसा सकियो । होटलमा खानबस्न पैसा भएन । उनले तीन रात सुन्धारास्थित धरहराको पेटीमा गुजारे । ‘मेरो संघर्षको सुरुवाती क्षणको साक्षी त्यही धरहरा हो, जुन २०७२ को भूकम्पले ढालिदियो,’ उनी विगतमा विचरण गरे ।
सुन्धारामा एक साँझ उनले मादल बजेको सुने । मादलको ताल पछ्याउँदै जाँदा उनी पुकार दोहोरी साँझमा पुगे । यो त्यही दोहोरी थियो, जुन दोहोरीमा काम लगाइदिने भन्दै उनका अग्रज दाइले राजुलाई ‘काठमाडौं सपना’ देखाएका थिए । संयोगले उनी त्यही दोहोरी पुगे । पहिलो दिन उनी ग्राहककै रूपमा त्यहाँ बसे । त्यहाँको व्यवस्थापनसँग गीत गाउन अनुमति लिए र दोहोरी खेल्न थाले । उनले दोहोरी गाएको सबैले रुचाए । दोहोरी सञ्चालक मुक्त गुरुङले उनलाई त्यहीँ गीत गाउन अफर गरे । उनको जागिरको टुंगो लाग्यो । तलब ५५० रुपैयाँ । टिप्ससहित करिब ३ हजार ५ सय रुपैयाँ राजुले महिनामा कमाउथे ।
पहिलो व्यवसायिक रेकर्डिङ
रातिमा जागिर थियो । तर, दिउँसोमा भने राजुसँग समय नै समय थियो । दिन कटाउनै गाह्रो हुन्थ्यो उनलाई । टुँडिखेलमा बदाम खाएर, मान्छेसँगै गाडीहरू हेरेर दिन बिताइदिन्थे उनले । दोहोरी साँझमा दोहोरी गायनबाट विस्तारै चर्चा कमाइरहेका थिए । खासमा उनको रुची गायनभन्दा पनि संकलन र कम्पोजिसनमा थियो । तर, गीत गाएको अरूले मार्क गरेपछि गीत रेकर्डिङ गर्ने अवसर उनले पहिला पाए ।
त्यो बेलाका सर्वाधिक चर्चित लोक गायक नारायण रायमाझीसँग उनले एल्बम साझेदारी गर्दै थिए । क्यासेटको साइड ए मा रायमाझीको गीत थियो । त्यो गीतको कम्पोजिसन राजुले नै गरेका थिए । क्यासेटको साइड बी मा भने राजु आफैँले गाएको गीत रहने भयो । किसिमकोटमा चरी नाचेको गीत रेकर्ड हुने भयो ।
जीवनमै पहिलोपटक उनी रेकर्डिङ स्टुडियो छिरेका थिए । स्टुडियोमा दिग्गज कलाकारहरू थिए । प्राविधिकहरू थिए ।
जब उनी गीत गाउन छिरे, चिटचिट पसिना आउन आउन थाल्यो । उनी यति नर्भस भए कि ‘आफू धर्तीमा छु कि आकाशमा’ जस्तो लाग्न थाल्यो । ‘कताकता पातालमै भासिएँ कि झै पनि लाग्यो,’ उनी आफ्नो पहिलो रेकर्डिङ अनुभव सुनाउँछन् ।
पहिलो गीत फाइनल गर्न उनलाई ठ्याक्कै ३ दिन लागेको थियो । यी तिनै राजु परियार हुन्, जसले २४ वर्षे गायन यात्रामा १६ हजारभन्दा बढी गीत रेकर्ड गराइसकेका छन् । यतिसम्म कि उनले करिअको उत्कर्षमा रहेको बेला दिनमै १५ वटासम्म गीत रेकर्ड गरेका छन् । जुन आफैँमा विश्व रेकर्ड हो ।
यतिका गीतहरू गाउँदा पनि राजुलाई गीत गाउने भोक अझै मेटिएको छैन । उनलाई अझै कालजयी लोकदोहोरी गीतहरू गाउन मन छ । ‘गीत त मैले धेरै गाएँ । कति पैसाको लागि गाइयो । कति रहरले गाइयो । कति बाध्यताले पनि गाइयो,’ उनी भन्छन्, ‘मेरा सबै गीत राम्रा छन् भनेर म भन्न सक्दिन ।’
राजुले दिनको १० वटासम्म निर्माताको गीत गाइरहँदा ७ वटासम्म उधारो गाइदिनुपर्थ्यो । ‘दुख देखाउँथे । पीडा सुनाउँथे । एल्बम बिक्री भएपछि दिन्छु भन्थे । मैले पनि मानिदिन्थेँ । कतिले त मलाई गीत गाउन लगाएर आफ्नो नामसमेत राख्थे,’ उनले उबेलाको अवस्था सुनाए, ‘जे–जस्तो भएपनि मैले गीत गाइरहेको थिएँ । त्यसैमा म सन्तुष्ट थिएँ ।’
राजु अबको दिनमा संख्याभन्दा पनि गुणस्तरमा ध्यान दिएर गीतहरू गाउने बताउँछन् ।
जातीय विभेदमाथि बनेका गीतहरू विशेष :
राजुले हजारौँ गीत गाएपनि सबैभन्दा विशेष लाग्ने भनेको समुदायसँग जोडिएका गीतहरू हुन् । बाई बाई माया छड्के सलामी, यो खोलीको पानी कोइ नखानु मैले छोको छु, सुनपानीले छर्क मायालु लगायत गीतहरू उनलाई निकै विशेष लाग्छन् ।
‘कारण, मैले गाएका गीतहरूमार्फत केही हदसम्म भएपनि आफ्नो समुदायको पक्षमा काम गर्ने मौका पाएँ । समाजले मलाई मान्छे मान्दैन, तल्लो जात मान्छ । म सँधै मान्छेको खोजी गर्छु, तर, समाजले मलाई नै मान्छे नमान्नु कति विडम्बनाको कुरा हो,’ राजुले ती गीत विशेष लाग्नुको व्याख्या गर्दै असन्तुष्टि पोख्छन्, ‘व्यवस्था परिवर्तन भएपनि दलितहरूको अवस्थामा परिवर्तन भने अझै आउन सकेको छैन । समाजले अझै पनि दलितलाई विभेद गर्न छाडेका छैन । पहिलाको तुलनामा समाज शिक्षित त भयो, तर, शिक्षाले पनि त समाजमा विभेद हटाउन त नसक्दो रैछ ।’
राजुले जातीय विभेदबाट नेपाली समाजलाई मुक्त गराउन मानिसहरूको सोचमै परिवर्तन ल्याउन जरुरी देख्छन् । जातीय विभेदविरुद्ध कानुन बने पनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा अझै पनि नेपाली समाजमा जातीय विभेदका घटनाहरू भइरहेको उनको बुझाइ छ । ‘सबैको मनमा एउटा ब्रह्मज्ञान हुन जरुरी छ कि हामी सबै मान्छे हौँ, जातले ठूलो सानो कोही हुँदैन,’ उनी भन्छन्, ‘मन्दिरमा ढोग्ने मूर्ति सबैका हो । पानी भर्ने धारा सबैको हो । चौतारा सबैको हो । र, हामी सबै मानिस जाति हौँ भन्ने सोच सबैमा हुन जरुरी छ । नत्र भने हामी कुन युगमा बाँचिरहेका छौँ ?’
बायोपिक र बायोग्राफी :
लमजुङको रोधी र रत्यौली हुँदै लोकदोहोरीको ‘वादशाह’सम्म राजु परियारको यात्रा रोमाञ्चक छ । उनको गायन जीवन र व्यक्तिगत जीवनका अनेकन किस्साहरू कुनै फिल्मको उतारचढावपूर्ण पटकथा भन्दा कम्ता छैनन् ।
राजु परियारको यस्तै रोमाञ्चकारी जीवनयात्रामाथि फिल्म समेत निर्माण हुँदैछ । फिल्ममा उनी आफैँ मुख्य कलाकार भएर खेल्ने निधो भएको थियो । यसका लागि उनले १ वर्ष अभिनय कक्षा पनि लिए । तर, उनलाई लाग्यो, ‘म अभिनय गर्न बनेको मान्छे होइन । म गायनमै उपयुक्त छु ।’
‘अहिले म जस्तै देखिने र मेरो चरित्रलाई न्याय दिनसक्ने कलाकारको खोजी भइरहेको छ । मेरो बायोपिक भएपनि म त्यो फिल्मको मुख्य पात्रको रूपमा अभिनय नगर्ने कुरा मेरो तर्फबाट लगभग टुंगिसकेको छ । र, निर्माण कम्पनी पनि यसमा सकारात्मक नै छ,’ राजुले बन्न लागेको आफ्नै बायोपिकको राज खोले ।
‘फिल्मको अहिले स्क्रिप्टमा काम भइरहेको छ । कलाकारहरूको खोजी भइरहेको छ । अब चाँडै छायाङ्कनमा जान्छ होला,’ उनले थपे ।
फिल्मसँगै राजुको जीवनी पनि लेखिँदैछ । ‘बायोग्राफीको पहिलो पाण्डुलिपी तयार भइसक्यो । अब सम्पादन गरेर चाँडै बजारमा ल्याउने तयारी भरहेको छ,’ उनले भने, ‘मेरो जीवनको भोगाइ र अनुभवहरूबाट नयाँ पुस्ताले पनि केही सिकुन् भन्ने चाहनासहित बायोग्राफी प्रकाशन हुन थालेको हो । जीवन सरल छ र सरल बनाउन व्यवस्थित हुनपर्छ भन्ने सन्देश मेरो जीवनीबाट नयाँ पुस्ताले पाउनेछन् ।’
‘आखिर जीवन के नै हो र ? यसो कहिलेकाहीँ आर्यघाटतिर जान्छु, मान्छे जलाएको देख्छु । आखिर सबैले संसारमा छाडेर जाने भनेको सम्झना मात्रै त हो नि,’ उनले गम खाँदै भने, ‘जीवनमा लोभ, लालच, रिस, रागबाट अलग बस्नुपर्छ । यस्ता कुराहरूले जीवनलाई अप्ठेरोमा पार्छन् ।’