News Griha :: न्यूजगृह
दिवा खाजाले बढे विद्यार्थी
प्रतिनिधिमूलक तस्बिर

लहान— सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन थालेका छन् । केही दिन पहिले नगर कार्यपालिकाको बैठकबाट विद्यालयमै खाजा खुवाउनुपर्ने निर्णय गरिएको थियो ।

यसअघि खाजाबापतको रकम अभिभावकलाई दिने गरिएको थियो । अहिले विद्यालयले साप्ताहिक तालिका बनाएर ‘जंकफुड’ प्रतिबन्ध गरी पोषणयुक्त खाजा खुवाउन सुरु गरेको छ  । खाजाको सूचीमा फलफूल, मासु, खिर, जाउलो, चिउरा–भुजा, तरकारीलगाय रहेको श्री आधारभूत विद्यालय लहानका प्रधानाध्यापक जितेन्द्र महतोले बताए ।

‘खाजा नियमित खुवाउन थालेपछि विद्यार्थी संख्या पहिलेको तुलनामा धेरै नै बढेको छ । यसबाट विद्यार्थी खुसी पनि छन्’, महतोले भने,‘विद्यालय सञ्चालन हुने अवधिभर नानी बाबुहरु बस्न थालेका छन् । यसले गर्दा हामीलाई उत्साही बनाएको छ ।’

विद्यार्थी नियमित हुन थालेपछि पढाइमा पनि सुधार हुन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवतीप्रसाद चौधरीको भनाइ छ । विद्यालय अनुगमनका क्रममा विद्यार्थी संख्या कम देखिएपछि भइरहेका कामलाई फरक रुप दिन गरिएको प्रयासको नतिजा सुखद् भएको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीको भनाइ छ ।

उनी भन्छन्,‘सामुदायिक विद्यालयमा विद्यार्थी भित्र्याउने र टिकाउने उद्देश्यका साथ नगरपालिकाले दिवा खाजा कार्यक्रम ल्याएको हो । विद्यार्थीलाई नियमित विद्यालय आउने बानी बसाल्न, शैक्षिक गुणस्तर वृद्धि र जंकफुडको प्रयोगलाई घटाउन ल्याइएको दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ ।’

नियमित सामुदायिक विद्यालयमा अनुगमन बढाएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अमिरीकुमार यादवले बताए । बालबालिकाका लागि दिवा खाजा कार्यक्रम स्वास्थ्य, शिक्षा, सामाजिक न्याय तथा समानताको पक्षबाट महत्त्वपूर्ण मानिन्छ ।

लहानमा ५९ सामुदायिक,१२ वटा धार्मिक विद्यालयका कक्षा ६ सम्मका ११ हजार एक सय ६ विद्यार्थीमा खाजा वितरण गर्न सुरु गरिएको हो । प्रत्येक विद्यार्थीबापत सरकारले एक दिनको १५ दिने गरेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ०८:२२
Weather Update