
नयाँ दिल्ली— चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदै छन् ।
भारतमा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरी विभिन्न सम्झौता गरेका थिए । त्यसैगरी दाहालले भारतीय राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट भेटवार्ता गरेका थिए ।
दिल्लीको भ्रमण सकेपछि विशेष विमानमार्फत इन्दौर प्रस्थान गरेका दाहालले त्यहाँको महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकनका साथै पूजापाठ गरेका थिए ।
प्रधानमन्त्री दाहालले आफ्नो चार दिने भारत भ्रमण पूर्ण रूपमा सफल भएको दाबी गरे । यसले नेपालको आर्थिक समृद्धि र विकास प्रक्रियामा नयाँ इँटा थपेको उनको भनाइ छ ।
उनले भ्रमणका क्रममा भएका सहमति तथा सम्झौता महत्त्वपूर्ण रहेको र समग्र देशको हितलाई केन्द्रमा राखेर आफूले छलफल गरेको बताए ।
भारतीय प्रधानमन्त्री मोदीसँग भएको छलफलका आधारमा ऊर्जाको दीर्घकालीन व्यापारमा सहमति भएको उनको भनाइ थियो ।