News Griha :: न्यूजगृह
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध देशभर विरोध गर्छौं : एमाले

काठमाडौं— नेकपा  एमालेले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध देशभरबाट विरोध जनाउने भएकाे छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले १७ जेठमा राष्ट्रपतिबाट नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । बैठकले नागरिकता विधेयक मन्त्रिपरिषद्बाट लगेर पास गर्नु नेपालको संविधान, प्रचलित कानुन एवम् स्थापित संसदीय मान्यताको विपरित भएको ठहर गरेको छ ।

उपमहासचिव ज्ञवालीले अघिल्लो संसदले पारित गरी प्रमाणीकरण गर्नका लागि पठाएको संवैधानिक समयसीमाभित्र प्रमाणीकरण नभएपछि निस्क्रिय अवस्थामा रहेको विधेयकलाई ताजा निर्वाचन भएर नयाँ प्रतिनिधि सभा गठन भइसकेको समयमा अहिले प्रतिनिधि सभाले पहिलो अधिवेशन सम्पन्न गरी दोस्रो अधिवेशन चालु रहेको अवस्थामा मन्त्रिपरिषद्ले विधेयक प्रमाणीकरणको सिफारिस गर्ने र राष्ट्रपतिबाट प्रमाणीकरण हुनु संसदको अपमान भएको बताए ।

उनले भने,‘२०८० साल १७ जेठमा राष्ट्रपतिबाट नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको विषयमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी विधेयक प्रमाणीकरणका क्रममा गरिएको संविधानको ठाडो उल्लंघन र संसदको विशेषाधिकारको हननको देशभर सशक्त विरोध गर्दछ ।’

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १९:४८
Weather Update