
काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अदालतबाट जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिनु सरकारको सत्तास्वार्थ भएको टिप्पणी गरेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले गणतन्त्र दिवसको सन्दर्भ पारेर १५ जेठमा टिकापुर घटनाका आरोपी पूर्वसभासद चौधरीलाई आममाफी दिनुले गम्भीर प्रश्न उठाएको टिप्पणी गरेको हो ।
सर्वोच्च अदालतको फैसलाको पूर्णपाठसमेत नआउँदै सत्तास्वार्थका लागि चालिएको कदमले विधिको शासनलाई चुनौती दिएको एमाले उपमहासचिव ज्ञवालीले बताए । उनले सो कार्यले दण्डहीनतालाई संस्थागत गर्ने, कर्तव्यपालनाका सिलसिलामा खटिएका सुरक्षाकर्मीको मनोबल गिराएको महसुस पार्टीले गरेको पनि बताए ।
उनले भने,‘टीकापुर घटनामा आरोपी तीनै तहका अदालतबाट कारबाही गरी आजीवन कारवासको सजाय गरिएको विषयलाई लिएर गम्भीर बनेका छौँ । सर्वोच्च अदालतको फैसलाको पूर्णपाठसमेत नआउँदै नितान्त सत्तास्वार्थका लागि गरिएको कदमले विधिको शासनलाई चुनौती दिएको छ । त्यसले दण्डहीनतालाई संस्थागत गर्ने, कर्तव्यपालनाका सिलसिलामा खटिएका सुरक्षाकर्मीको मनोबल गिराएको छ । यसले सर्वसाधारणको पीडामा नुनचुक छर्किने काम गरेको छ ।’