
तनहुँ— व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिकरूपमा ड्रागन फ्रुट खेती सुरु गरिएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन खेतीतर्फ लागेकी हुन् ।
१८ वर्ष शिक्षण पेसा र करिब १५ वर्षसम्म दमौली बजारमा बुटिक व्यवसाय गरेकी गौली अहिले ड्रागन खेतीतर्फ आकर्षित भएकी हुन् ।
करिब नौ रोपनी क्षेत्रफल जग्गा २० वर्षका लागि भाडामा लिएर वार्षिक बीस हजार भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक गौलीले बताइन् ।
‘गत वर्ष भारतको हैदरावादबाट प्रतिबिरुवा एक सयका दरले दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएकी थिएँ । यस वर्षदेखि उत्पादन दिन सुरु गरेको छ’, उनले भनिन् ।
कृषक गौलीले खेतीका लागि सुरुमा करिब ७० लाख लगानी गरेको बताइन् । उनले भनिन्,‘फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूललगायत बहुआयामिक किसिमले खेती गरेकी छु ।’
फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिइन् । एउटा पोलमा करिब दश हजारका दरले खर्च भएको उनको भनाइ थियो ।
बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको अनुभव सुनाउँदै कृषक गौलीले बिक्री भने गर्न नपाएको बताइन् ।
उक्त फार्मको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने र वडाध्यक्ष हिमाल श्रेष्ठले अवलोकन गरेका थिए । नगरप्रमुख न्यौपानेले व्यावसायिक कृषि पेसालाई नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।