
काठमाडौं— नीति तथा कार्यक्रममार्फत ल्याइएको नयाँ कर नीतिको पुँजीबजारका लगानीकर्ताले विरोध गरेका छन् ।
सरकारले ल्याएको आयकर बढाउने नीतिलाई स्विकार्न नसकिने भन्दै आन्दोलन थालेका उनीहरूले शुक्रबार माइतीघरमा विरोध प्रर्दशन गरेका छन् ।
पुँजीबजार सुधारका अभियान्ता तिलक कोइरालाले सरकारले पुँजीबजार मारा नीति ल्याएको भन्दै आपत्ति जनाए । ‘हाम्रो बेहाल हुन्छ, अहिले पुँजीबजार मारा नीति ल्याएर पुँजीबजारलाई थला पारेर यो बजार वर्षौँ उठ्दैन ।’
अर्थमन्त्रीले शेयर मार्केटबारे दिएको अभिव्यक्तिप्रति पनि उनले असन्तुष्टि पोखे । ‘अर्थमन्त्रीले भनेको ९९ प्रतिशतको कुरा होइन, यो सय प्रतिशतको कुरा हो,’ उनले भने ‘पुँजीबजार जागिर खाए जस्तो होइन, जागिरमा महिना मरेपछि पैसा आउँछ कर काटिन्छ, तर, पुँजीबजार जोखिमको ठाँउ हो । यहाँ लगानी गरेर आम्दानी हुने होइन, गुमाउने सम्भावना छ । कमाउनको लागि यो स्थानमा धेरै काम गर्नुपर्छ ।’
शेयर बजारमा यसअघिको भन्दा थप एक रुपैयाँ पनि कर तिर्न नसकिने उनको तर्क छ । उनले भने ‘यस्तो स्थानमा हामीले काम गरिरहेका छौँ, यस्तो स्थानमा सबैभन्दा चर्को कर लगाएर हामीलाई निरुत्साहित गरियो भने हामी त भाग्छौ नै तर, नयाँ आउने पनि कोही टिक्दैन ।आईपीओ बिक्दैन बजार खतम भएर जान्छ । सरकारले १ रुपैयाँ पनि कर उठाउन सक्दैन यो स्थानबाट ।’
उनले आइतबार अर्थमन्त्रीको घर घेराउ तथा कारोबार रोक्नेलगायत आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन् ।