News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
भारतीय महिला कुस्ती खेलाडीले पाँच महिनादेखि किन आन्दोलन गरिरहेका छन् ?

काठमाडौं— भारतको लागि ओलम्पिक मेडल जितेका चर्चित खेलाडीसहित कुस्तीका महिला खेलाडीहरूले यौन शोषणविरुद्ध राजधानी नयाँदिल्लीमा जनवरीदेखि आन्दोलन गरिरहेका छन् । 

ओलम्पिक पदक जितेकी विनेश फोगटलाई यसै साताको आइतबार प्रहरीले क्रुर तरिकाले धरपकड गरिरहँदा प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बिनी र कपिलवस्तुसहित नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’को भित्तेचित्र उद्घाटन गर्न व्यस्त थिए । 

फोगट र साक्षी मल्लिकलगायत खेलाडीहरू लामो समयदेखि यौन हिंसाका पीडकलाई पक्राउ गर्न माग गर्दै आन्दोलनमा छन् । भारतीय कुस्ती महासंघ (डब्ल्यूएफआई)का अध्यक्ष तथा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का सांसद बृजभूषण शरण सिंहविरुद्ध उनीहरूले यौन शोषणको आरोप लगाएका छन् । 

Prabhu Bank

तर, नरेन्द्र मोदीको सरकार त्यस्ता व्यक्तिलाई निलम्बन गरेर कारबाही अगाडि बढाउनुको सट्टा हिन्दु मुस्लिम भन्दै प्रोपागान्डा फैलाउने द केरला स्टोरी प्रवर्द्धन गर्नै व्यस्त छ । सिंहमाथि धेरै महिला खेलाडीहरूलाई उत्पीडन गरेको आरोप लगाइएको छ । तर, सबै आरोपहरूलाई डब्ल्यूएफआईले अस्वीकार गर्दै आएका छ । र, कुस्ती खेलाडीहरूको संगिन आरोप राजनीतिक रूपमा प्रेरितको भएको भन्दै खारेज गर्ने गरेको छ । 

दिल्ली पुलिसले २८ अप्रिलमा सिंहविरुद्ध एफआईआर दर्ता गरेको थियो । उक्त एफआईआरमा १५ वटा यौन उत्पीडनका घटना उल्लेख छन् । जसमा १० वटा घटनामा अनुचित ढंगले छुने, वक्षस्थल र कम्मरमा छुने तथा पिछा गर्ने गरेको बीबीसी हिन्दीले इन्डियन एक्स्प्रेसलाई उद्धृत गर्दै जनाएको छ । 

सिंहविरुद्ध आईपीसी धारा ३५४ (महिलाको लज्जा भंग गर्ने), ३५४ए (यौन उत्पीडन), ३५४डी (पिछा गर्ने) र धारा ३४ अन्तर्गत एफआईआर दर्ता गरेको थियो । पहिलो एफआईआरमा छ जना वयस्क कुस्ती खेलाडीहरूविरुद्ध आरोप लगाइएको छ । डब्ल्यूएफआईका सचिव विनोद तोमरको पनि आरोपीको रूपमा नाम दिइएको छ । 

दोस्रो एफआईआर नाबालिग पहलमानका बुबाको नामबाट दर्ता गरिएको छ । त्यसमा पोक्सो ऐनको धारा १० लगाइएको छ, जसमा पाँचदेखि सात वर्षसम्मको सजायको व्यवस्था छ । यी एफआईआरहरूमा उल्लेख गरिएका सबै घटनाहरू २०१२ देखि २०२२ सम्म भारत वा विदेशमा भएको बताइएको छ । 

देशको नाम चिनाएका खेलाडीहरूको समस्या समाधान गर्नुको सट्टा भाजपा सरकार र प्रधानमन्त्री मोदी त्यसलाई लामो समयदेखि बेवास्ता गरिरहेका मात्र छैनन्, उल्टै आन्दोलन गरिरहेका खेलाडीहरूमाथि यसै साता अमानवीय तरिकाले धरपकड गरेको दृश्य मिडियामा छाएको छ । खेलाडी विनेश फोगटलाई जर्बजस्ती धरपकड गरेको दृश्यले सरकारले पीडितलाई गर्ने व्यवहारलाई लिएर प्रशासनको रबैयामा प्रश्न उठेको छ । 

प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग मात्रै गरेको छैन, सरकारले यौन हिंसाको इन्कार गर्ने, मौनता साध्ने र अधिकारीहरूले कुनै कारबाही नै अगाडि नबढाएपछि पहलमानहरू दिल्लीको प्रचण्ड गर्मीमा जंतर मन्तरमा विरोध प्रदर्शनमा बसिरहेका छन् । डब्ल्यूएफआईका प्रमुखलाई पक्राउ गर्न माग गर्दै आन्दोलन गरिरहेका उनीहरूलाई सोसल मिडियामा भने आम नागरिकले साथ दिइरहेका छन् । 

पहलमानहरू सर्वोच्च अदालतमा पुगेपछि मात्र आपराधिक अनुसन्धानको पहिलो चरण एफआईआर दायर गरिएको थियो । कुस्ती खेलाडीहरूले ‘छोरीहरू बचाउ’ अभियान चलाउने तर, यौन उत्पीडनविरूद्ध विरोध गर्ने ओलम्पिक खेलाडीहरूप्रति मौन र अनुत्तरदायी हुने सरकारको पाखण्ड पनि औँल्याएका छन् । 

‘कुस्ती खेलाडीहरूको आरोपमा राज्यको प्रतिक्रियाले भारतमा ‘धम्की दिने परम्परा’लाई प्रतिविम्बित गर्छ । जब महिलाहरूले कार्यस्थलमा यौन दुर्व्यवहारको रिपोर्ट गर्छन्, जसमा इन्कार, चुपचाप, उत्पीडन र मानहानिका केसहरू पनि समावेश छन्,’ द वायरले जनाएको छ । 

भारतीयहरूले स्वतन्त्रतापछि २१ व्यक्तिगत ओलम्पिक पदक जितेका छन्, जसमध्ये छ कुस्तीमा छन् । यसको मतलब पदक प्राप्त गर्ने महिलाहरूको कुरा मात्र विश्वास गर्ने वा कानुनी उपचारमा पहुँचको योग्य छन् भन्ने होइन । ‘यो हाम्रो संवैधानिक ग्यारेन्टी हो । उनीहरूले आज सामना गरिरहेको संस्थागत विश्वासघात हो । देशका निर्वाचित नेताहरू लोकतन्त्रको दृश्यमा नयाँ संसद् भवनमा एकजुट हुँदा, यौन उत्पीडनको गुनासो र विरोधको प्रतिक्रिया नहुँदा लोकतन्त्रको आत्मा नै खोक्रो भएको छ,’ द वायरले भनेको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १५:१३
sagarmatha cementsagarmatha cement
Weather Update