News Griha :: न्यूजगृह
सप्तरीमा गर्मीले जनजीवन प्रभावित, विद्यालय पनि बन्द

राजविराज— सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ ।

यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ । पठनपाठन गर्न समस्या भएपछि सप्तरीका दुई स्थानीय तहले पाँच दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या तथा विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको २३ जेठसम्म बिदा दिइएको राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै कञ्चनरूप नगरपालिकाले पनि नगरभित्रका विद्यालयमा पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रेणुका साहले बिहीबार सूचना जारी गर्दै शुक्रबारदेखि विद्यालय बन्द गरिएको जानकारी दिइन् ।

यसैगरी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजले पनि २१ जेठदेखि ८ असारसम्म २० दिनका लागि क्याम्पस बन्द गर्ने निर्णय गरेको क्याम्पस प्रमुख राजिवकुमार मिश्रले जानकारी दिए ।

एक सातायता मधेस प्रदेशका सबैजसो जिल्लामा गर्मी ह्वात्तै बढेको छ । सर्वसाधारण अत्यवश्यक काम बाहेक घर बाहिर निस्किन छाडेका छन् । गर्मीबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ०८:३७
Weather Update