
सिरहा— गर्मीका कारण सिरहाको लहान नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै यहाँका सम्पूर्ण विद्यालय एक हप्तासम्मका लागि बिदा दिने निर्णय गरेको हो ।
अत्यधिक बढ्दो गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै २६ जेठ शुक्रबारसम्मका लागि नगरपालिकाअन्तर्गतका बालविकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक, निजी तथा धार्मिक विद्यालयका पठनपाठन बन्द गरिएको हो ।
गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।
गर्मी यथावत् रहिरहे आइतबारदेखि लागू हुने गरी सिरहाका अन्य पालिकाले पनि पठनपाठन बन्द गर्ने शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख शशीकुमार यादवले जानकारी दिए । सिरहामा जम्मा १७ वटा स्थानीय पालिका रहेका छन् ।
विगत केही दिनदेखि अत्यधिक गर्मीका कारण सिरहा, सप्तरी, धनुषासहित मध्य तराईको जनजीवन प्रभावित भएको छ ।