शरणार्थी प्रकरण : फरार हरिभक्त महर्जन पक्राउ

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमध्येका थप एक जना पक्राउ परेका छन् ।
शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि फरार रहेका हरिभक्त महर्जनलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।
काठमाडौं प्रहरीले उक्त प्रकरणमा संलग्नविरुद्ध राज्यविरुद्धको अपराधसहितका कसुरमा प्रतिवादी बनाएर ३० जनाकाे अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो ।
त्यसपछि १० जेठमा सरकारी वकिल कार्यालयले आरोपित ३० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।
मुद्दा चलाइएकामध्ये १६ जना पक्राउ परेका र १४ जना फरार थिए । फरारमध्येका एक लक्ष्मी महर्जन केही दिनअघि पक्राउ परेकी थिइन् भने उनका श्रीमान् हरिभक्त बिहीबार काठमाडौंबाटै पक्राउ परेका हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८० २०:२१