
नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताएका छन् ।
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले भारत–नेपाल सम्बन्धलाई हिमाल जतिकै उचाइ प्रदान गर्नका लागि काम गरिरहने बताए गरे ।
‘यही भावनाअनुसार सबै मुद्दा, चाहे सीमाका हुन्, या अन्य कुनै विषय सबै समाधान गर्छौं’,उनले भने,‘यो सुन्दर सम्बन्धलाई थप प्रगाढ बनाउन प्रधानमन्त्री दाहाल र मैले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तीव्र गतिमा अगाडि बढाउन चाहेका छौँ ।’
नौ वर्षअघि सन् २०१४ मा आफूले भारतीय प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको तीन महिनाभित्र नेपालको पहिलो भ्रमण गरेको स्मरण गर्दै उनले नौ वर्षमा दुवै देशबीच अनेकौँ क्षेत्रमा कयौं उपलब्धि हासिल भएको उल्लेख गरे ।
‘वीरगञ्जमा नेपालको पहिलो एकीकृत जाँचचौकी (आइसीपी) बनेको छ, भारत–नेपालका बीचमा पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण भएको छ । ‘ब्रोडगेज’ रेललाइन स्थापित भएको छ, सीमा क्षेत्रमा नयाँ प्रसारण लाइन निर्माण भएको छ । नेपालबाट चार सय ५० मेगावाट बिजुली आयात गरिरहेका छौँ’, भारतीय प्रधानमन्त्री मोदीले भने ।
उनले भारत–नेपाल ‘पार्टनरसीप’लाई ‘सुपरहिट’ बनाउन दुवै देशका प्रधानमन्त्रीले महत्त्वपूर्ण निर्णय लिएको बताए । ‘पारवहन सम्झौता सम्पन्न भएको छ । यसमा नेपालीका लागि नयाँ रेलमार्गका साथ भारतको जलमार्गको सुविधा प्राप्त हुनेछ । नयाँ रेल लिंक स्थापना गरेर भौतिकरूपमा सम्पर्क सञ्जाल जोडिएको छ’, प्रधानमन्त्री मोदीले भने ।
भारतीय रेल संस्थानमा नेपालका रेलकर्मीलाई प्रशिक्षण प्रदान गर्ने निर्णय लिएको पनि उनले जानकारी दिए । उनले अन्तरदेशीय डिजिटल भुक्तानीसम्बन्धी सम्झौतासँगै हजारौँ विद्यार्थी, लाखौं पर्यटक अथवा तीर्थयात्रीका साथ स्वास्थ्योपचारका लागि भारत आउने नेपालीले लाभ लिने उल्लेख गरे । उनले थप तीन वटा एकीकृत जाँचचौकी निर्माणबाट आर्थिक कनेक्टिभिटी सुदृढ हुने विश्वास व्यक्त गरे ।
‘पछिल्लो वर्ष हामीले ऊर्जा क्षेत्रमा सहयोगका लागि एक ‘ल्याण्डमार्क भिजन’ दस्तावेज बनाएका छौँ । यसलाई अगाडि बढाएर नेपाल र भारतबीच दीर्घकालीन ऊर्जा व्यापार सम्झौता (लङट्रम पावर ट्रेड एग्रिमेन्ट) सम्पन्न भएको छ’, उनले भने ।
यसअन्तर्गत आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखेको प्रधानमन्त्री मोदीले घोषणा गरे । फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत् परियोजना निर्माणको सम्झौताबाट विद्युत् क्षेत्रमा सहयोगका लागि बल मिलेको उनको भनाइ थियो ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाले सकारात्मक प्रभाव परेको जनाउँदै उनले उक्त पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म लैजान निर्णय गरिएको बताए । नेपालमा एक रासायनिक मल कारखाना स्थापना गर्न दुई देशबीच आपसी सहयोगका लागि सहमति भएको उनले जानकारी दिए ।