News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
भारतीय मिडियाको नजरमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण

काठमाडौं— सत्ता सम्हालेको पाँच महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणमा छन् । बुधबार अपराह्न भारत पुगेका प्रधानमन्त्री प्रचण्डको स्वागत भारतका विदेश राज्यमन्त्री मीनाक्षी लेखीले गरिन् ।

राजकीय भ्रमणमा जान खोजेका दाहाल अन्ततः औपचारिक भ्रमणमै सीमित भए । तर, विदेश राज्यमन्त्रीले मात्र स्वागत गरेपछि प्रधानमन्त्री दाहाललाई कम महत्व दिएको र भारतले कूटनीतिक प्रोटोकल लत्याएको भन्दै नेपालमा विरोध पनि भएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा नेपाल भ्रमणमा रहँदा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न गएका थिए । मोदीको सम्मानमा भीभीआईपीको लागि दिने गरेको १९ तोपको सलामी दिइएको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा सन् २०१८ मा भारत भ्रमण जाँदा उनले पनि राजकीय सम्मान पाएका थिए । उनलाई भारतको तत्कालीन परराष्ट्रमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् । ओली त्यसबेला बहुमत प्राप्त सरकारको प्रधानमन्त्री थिए । सोही वर्ष प्रधानमन्त्री मोदी दुई दिनको राजकीय भ्रमणमा नेपाल आएका थिए । जनकपुर हुँदै काठमाडौं आएका उनको स्वागत जनकपुरमा तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गरेका थिए । 

Prabhu Bank

पूर्वप्रधानमन्त्री ओलीको बहुमतको सरकार ढलेसँगै पाँचौँपटक शेरबहादुर देउवा प्रधानमन्त्री बने । त्यसपछि उनी सन् २०२२ मा भारत भ्रमणमा गएका थिए । त्यसबेला उनलाई भारतका पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए । उनको त्यो भ्रमण पनि राजकीय नभइ औपचारिकतामै सीमित थियो ।

मोदी सरकारले मात्र प्रधानमन्त्री दाहालको भ्रमणलाई कम महत्व दिएको छैन, भारतीय मिडियामा पनि उनको भ्रमणबारे कमै चासो देखिन्छ । यसले भारतले छिमेकी पहिलो भने पनि नेपाल–भारत सम्बन्धको आयाम नयाँ धरातलमा पुगेको बुझ्न कठिन छैन । 

यसैबीच, केही भारतीय सञ्चार माध्यमले नेपाल–भारतबीच बिहीबार (१८ जेठ) भएको संयुक्त प्रेस सम्बोधनलाई मात्र प्राथमिकता दिइ समाचार प्रकाशन गरेका छन् भने केहीले प्रधानमन्त्री दाहालको भ्रमण सुरु हुन लागेकोदेखि नै समाचार प्रकाशन गरेका छन् । 

यति मात्र होइन, भारतीय सञ्चार माध्यममा माओवादी द्वन्द्वमा कमान्डरको छवि बनाएका दाहाललाई अझै त्यही नजरले हेर्दै प्रचण्डकै रूपमा समाचार शीर्षकमा सम्बोधन गरेको देखिन्छ । कथित जनयुद्धबाट दबदबा बनाएर शान्तिपूर्ण राजनीतिमा होमिएसँगै जब्बर प्रचण्ड तेस्रो कार्यकाल प्रधानमन्त्री भएसँगै दौरा सुरुवाल र टोपीमा सजिएर पुष्पकमलको नाममा छवि स्थापित गर्न खोजेको भारतीय मिडियाले पत्तो पाएको देखिन्न । 

कुन मिडियाले के भने ?

भारतीय मिडिया इण्डियन एक्स्प्रेसले प्रधानमन्त्री प्रचण्डको चारदिने भ्रमणको चर्चा ‘व्यक्तिगत र राजनीतिक ः नेपालबाट, प्रचण्डको भारत भ्रमण अवलोकन गर्दा’ शीर्षकमा गरेको छ । नेपालका देशसञ्चारका प्रधानसम्पदाक युवराज घिमिरेको बाइलानको उक्त समाचारमा प्रधानमन्त्री दाहालको भ्रमणको चर्चाभन्दा पनि भर्खरै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकले छिमेकी मुलुकमा पार्नसक्ने असरबारे कुरा गरिएको छ । 

यस्तै,  आजतकको अनलाइन संस्करणमा प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई लिएर लामो आलेख तयार पारिएको छ । ‘चीनको असन्तुष्टिबीच प्रचण्ड भारत भ्रमणमा, भारतप्रति लिएर आए यस्तो अडान’ शीर्षकको समाचारमा चारदिने भ्रमणमा चीनका समर्थक प्रचण्ड भारतसँग सम्बन्ध बढाउन कोसिस गरेको उल्लेख गरेको छ । यसले पनि नेपालीसँग विवाह गर्ने विदेशीलाई राजनीतिक अधिकारका साथै तत्काल नागरिकता प्रदान गर्ने कुरामा चीन रिसाएको भन्दै इण्डियन एक्स्प्रेसकै लाइनमा समाचार लेखेको छ । 

एबीपी न्यूजले अनलाइन संस्करणमा समकक्षी नरेन्द्र मोदीसँग गरिएको संयुक्त पत्रकार सम्मेलनको समाचार मात्र कभर गरेको छ । ‘नेपालका प्रधानमन्त्री प्रचण्डले मोदीको ‘छिमेकी पहिलो’ नीतिको प्रशंसा गर्दै गरे औपचारिक भ्रमणको निम्तो’ शीर्षकमा छापिएको समाचारमा दुवै प्रधानमन्त्रीको सम्मेलनको सम्बोधन समेटिएको छ । 

यसैगरी, एनडीटीभीको हिन्दी अनलाइन संस्करणमा पनि ‘भारत–नेपाल साझेदारीलाई सुपरहिट बनाउन महत्वपूर्ण निर्णय : प्रधानमन्त्री मोदी’ शीर्षकमा समाचार प्रकाशन भएको छ । एनडीटीभीले पनि प्रेस सम्मेलनको समाचारलाई मात्र प्राथमिकतामा दिएको छ । 

द हिन्दुले ‘नेपालको विकासको आवश्यकतालाई केन्द्रमा राखेर प्रधानमन्त्रीको भारत भ्रमण सुरु’ शीर्षकमा समाचार प्रकाशन गरेको छ । त्यसमा सम्भावित विद्युत् व्यापार, जलविद्युत् आयोजनाको सम्झौता, संक्षिप्तमा प्रधानमन्त्री दाहालको तेस्रोपटक सत्ता आरोहणको बारेमा चर्चा गरिएको छ ।

अंग्रेजी पत्रिका द टाइम्स अफ इण्डियाको अनलाइन संस्करणमा ‘नेपालका प्रधानमन्त्री पीके दाहाल प्रचण्ड ४ दिने भ्रमणमा, सीमा, ऊर्जा मुद्दाहरू एजेन्डामा’ शीर्षकमा समाचार प्रकाशन गरेको छ । जसमा प्रधानमन्त्री दाहालले विद्युत् निर्यातको लागि नेपाल–भारत–बंगलादेशसँग त्रिपक्षीय सम्झौता गर्न अनुकूल बजार पाइने विश्वास गरेको भन्दै उनको भनाइ उद्धृत गरेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १७:४२
Weather Update