
नयाँदिल्ली— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मागान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् ।
भारतमा मात्र नभइ विश्वमै शान्ति र अहिंसाका प्रवर्तकका रूपमा परिचित गान्धीप्रति विशेष सम्मान प्रकट गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका हुन् ।
महात्मा गान्धीलाई नेपालमा पनि उत्तिकै सम्मान गरिने भएकाले भारत भ्रमणमा पुग्ने नेपालका प्रधानमन्त्री गान्धीप्रति सम्मान प्रकट गर्न राजघाट पुग्ने गर्छन् । भारत सरकारले राजघाटलाई पर्यटकीय क्षेत्रका रूपमा पनि विकास गरेको छ ।
राजघाटमा राखिएको पुस्तिकामा प्रधानमन्त्री प्रचण्डले महात्मा गान्धीलाई अहिंसाका प्रवर्तक एवं शान्ति र सत्याग्रहमार्फत स्वतन्त्र भारत निर्माण गरेका व्यक्तित्व भनी टिप्पणी गरेका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली आइपुगेका हुन् । बिहीबार नै उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । रासस