
हेटौंडा— बाग्मती प्रदेश सभाको आज अपराह्न बस्ने भनिएको बैठक स्थगित गरिएको छ । अपराह्न ३ बजे बस्ने गरी बोलाइएको बैठक विशेष कारणवश चैत्र १० गते दिनको १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
आज बस्ने भनिएको बैठकमा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची थियो । तर नेपाली कांग्रेस संसदीय दलको काठमाडौंमा बसेको बैठकले आज बैठकमा उपस्थित नसकिने भन्दै चैत्र १० गतेको समय माग भएअनुरुप सत्ता पक्ष र प्रतिपक्षको सहमतिमा आजको बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
गत पुस २६ गते नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट मन्त्रिपरिषद् गठन भएको र राप्रपाका मन्त्रीहरूले फागुन १६ गते मन्त्री पदबाट राजीनामा दिई पार्टीको तर्फबाट दिइएको समर्थन फिर्ता लिएको थियो ।













