News Griha :: न्यूजगृह
सरकार सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको पक्षमा दृढ छ : गृहमन्त्री श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं— उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन् । 

बुधबार मन्त्रालयमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले भने, ‘यसमा कहिल्यै कुनै सम्झौता गरिने छैन । यसको प्रतिकूल कुनै काम गरिने छैन ।’

नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरूमा सरकारको ध्यानाकर्षण भएको उनले बताए । 

गृहमन्त्री श्रेष्ठले कतिपय मुद्दामा सरकारले भारतसँग कूटनीतिक माध्यमबाट छलफल गरिरहेको पनि बताए । ‘ऐतिहासिक तथ्यका आधारमा छलफल गरिरहेका छौँ । दुई देशको पारस्परिक हितको पक्षमा नै छलफल हुनेछ ।’

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले भारतमा गत आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सामा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रियताविरुद्ध नेपालको भूभाग समेटेकोप्रति ध्यानाकर्षण गराएको हो । यस्तै, भारतले सीमा अतिक्रमण गरेको, सीमावर्ती क्षेत्रमा अपराधिक क्रियाकलाप गरेको भएपनि सरकारले कुनै चासो नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १७:३७
Weather Update