News Griha :: न्यूजगृह
उत्तर कोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल

सोल— उत्तर कोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको छ । 

उत्तर कोरियाको नेशनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (एनएडीए)ले बुधबारको दुर्घटनाबाट पाठ सिक्दै चाँडोभन्दा चाँडो अर्को उपग्रह प्रक्षेपण गर्ने बताएको छ । रकेट इञ्जिन प्रणाली र इन्धनका कारण दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख गरेको छ ।

एरोस्पेस एजेन्सीले स्याटेलाइट प्रक्षेपणमा देखा परेका गम्भीर त्रुटिहरूको विस्तृत अध्ययन गर्ने, तिनलाई हटाउन तत्काल वैज्ञानिक र प्राविधिक उपायहरू गर्ने र विभिन्न भागको परीक्षण गरी जतिसक्दो चाँडो दोस्रो प्रक्षेपण गर्ने बताएको छ ।

यसैबीच, फ्रान्सेली समाचार समिति एएफपीका अनुसार उत्तर कोरियाले अमेरिकी सैन्य गतिविधिलाई सूक्ष्म ढङ्गले निगरानी गर्न यही २८ जेठभित्रमा आफ्नो जासुुसी उपग्रह प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको थियो । 

प्योङयाङको बुधबारको असफल प्रक्षेपणले दक्षिण कोरियाको राजधानी सोलमा हल्लीखल्ली मच्चियो भने जापानमा दक्षिणमा ओकिनावाका बासिन्दालाई सतर्क रहन सुरक्षा चेतावनी जारी गरिएको थियो ।

सोलमा अराजकता र अन्योल छायो जब मानिसहरू हवाई आक्रमणको साइरनको आवाजबाट ब्यूँझिए र उनीहरू भाग्ने तयारीमा जुटे । आपत्कालीन सन्देश प्रवाह भएको २० मिनेटपछि मात्र त्यो त्रुटिवश प्रवाह भएको वास्तविकता बाहिर आयो । बुधबारको अफवाहले सुरक्षा सतर्कता प्रणालीप्रतिको विश्वास गुमेको ३३ वर्षीया एक गृहिणीले बताएकी छन् । 

‘उत्तर कोरियाले दक्षिण कोरियामा सुरक्षा जोखिम बढाएको छ, यदि भविष्यमा सतर्कता चेतावनी जारी हुँदा त्यसलाई गम्भीरतापूर्वक लिइन्छ वा लिइँदैन भन्ने प्रश्न खडा भएको छ,’ उनले भनिन् । रासस

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १४:५६
Weather Update