News Griha :: न्यूजगृह
एक दलित सांसदको शहरमा डेरा कथा

काठमाडौं— दलित समुदायले शहर तथा शहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ ।

दलित समुदायका मानिसलाई डेरामा राख्नु हुँदैन भन्ने सोच भएका मानिसका कारण यस्ता विभेद समाजमा रहँदै आएको छ ।

ग्रामीण क्षेत्रमा विभेद भयो । पानी छुन दिइएन तर शिक्षित भनिएको शहरी क्षेत्रमा नै विभेद गरियो भन्ने सुन्दा नमिठो लाग्छ तर भएको यस्तै छ ।

सामान्य दलित समुदायका नागरिकले डेरा नपाएको विषय बेला बेलामा सार्वजनिक भएको भए पनि सांसद  नै त्यस्तो विभेदमा परेको विषय आज राष्ट्रिय सभाको बैठकमा सांसद तुलप्रसाद विश्वकर्माले सार्वजनिक गरेका हुन् ।

उनले राष्ट्रिय सभाको सदस्यका रुपमा निर्वाचित भएर काठमाडौं आएपछि चार महिनासम्म डेरा पाउन नसकेको जानकारी गराए ।

उनले विभिन्न छ स्थानमा डेरा खोज्न गए पनि अन्त्यमा जात सोधेर डेरा नदिइएको पीडा सुनाए । उनले आफू राष्ट्रिय सभाको सदस्य हुँदा पनि यस्तो पीडा भोगेको भन्दै सामान्य दलित समुदायका मानिसको हालत के होला भन्ने प्रश्न गरे ।

उनले छुवाछूत र भेदभाव समाजमा के कति मात्रामा गहिरो छ भन्ने कुराको फेहरिस्त सुनाउँदै आफूमाथि परेको विभेदको घटना सुनाए ।

सांसद विश्वकर्माले भने, ‘सांसद भएर काठमाडौं आएपछि प्रत्यक्षरुपमा मैले भोगें । चार महिनासम्म मैले डेरा पाइन । छ  ठाँउमा मेरो पक्का भएपछि रद्दभयो ।’

‘कुरा गर्न जाँदा सबै मिल्छ । अन्तिममा हिँड्ने बेलामा हजुर के थरी भन्नुहुन्छ ? म विश्वकर्मा हो भनेपछि श्रीमतीसँग सोध्नुपर्छ भन्नुहुन्छ । त्यसरी छ ठाँउमा डेरा रद्द भयो’, सांसद विश्वकर्माले भने, ‘लास्टमा म दलित समुदायकै मानिसको घरमा बसिरहेको छु अहिले । त्यसखालको दुःखद् अवस्था छ अहिले पनि ।’

२१ औं शताब्दीमा पनि दलित समुदायमाथि शहर तथा शहरी क्षेत्रमा मात्रै नभई ग्रामीण क्षेत्रमा विभेद भइरहेको उनले गुनासो गरे । सांसद विश्वकर्माले मधेस प्रदेशका जनप्रतिनिधिले नै दलित समुदायमाथि विभेद गरेको तथ्य पेश गर्दै त्यस्तो घटनाप्रति दुःख व्यक्त गरे ।

विभेद र छुवाछूत अन्त्यका लागि योजना बनाएर कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । शहरी क्षेत्रमा नै जातीय विभेदको घटना भए पनि कारबाही नभएको उनको गुनासो छ ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १८:२१
Weather Update