News Griha :: न्यूजगृह
माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूबीच शिष्टाचार भेट

काठमाडौं— सत्तारूढ दल नेकपा माओवादी केन्द्र नेताहरू र चिनियाँ कम्युनिष्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच शिष्टाचार भेट भएको छ ।

बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सचिव वाङसहितको १४ सदस्यीय प्रतिनिधि मण्डलले नेकपा माओवादी केन्द्र नेताहरूसँग भेट गरेको हो । भेटका क्रममा दुई पार्टीका बीचमा सम्बन्ध विस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए । उनले छलफलमा दुई सरकारबीचमा सम्बन्ध विस्तार र दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध स्थापित गर्नेकुरामा छलफल भएको बताए । 

भेटमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ लगायतका पार्टीका नेताहरूको उपस्थिति रहेको थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण हुनुअघि चिनियाँ कम्युनिष्ट पार्टीको टोलीबीच भएको भेटघाटलाई महत्वपूर्ण रूपमा लिइएको छ । साथै, चिनियाँ कम्युनिष्ट पार्टीको टोली बुधबार बिहान नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेको थियो । 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १२:२०
Weather Update