News Griha :: न्यूजगृह
कतारका प्रधानमन्त्री र तालिबान प्रमुखबीच अफगानिस्तानमा गोप्य वार्ता 

काठमाडौं— कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल–थानी र तालिबानका प्रमुख नेता हैबतुल्लाह अखुन्जादाबीच अफगानिस्तानमा गोप्य वार्ता भएको छ । 

कतारी प्रधानमन्त्रीले तालिबानका सर्वोच्च नेतासँग अन्तर्राष्ट्रिय समुदायसँगको तनाव समाधान गर्न गोप्य वार्ता गरेको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । छलफलमा अफगानिस्तानका शासकहरूले एक्लै बसिरहेको अवस्था अन्त्य गरी अन्य देशहरूसँग सम्बन्ध स्थापित गर्न इच्छा व्यक्त गरेको बताइएको छ ।

दक्षिणी अफगानिस्तानको कान्दाहार शहरमा १२ मेमा भएको पहिलो बैठकमा तालिबान प्रमुख अखुन्जादाले विदेशी नेतासँग भेट गरेका थिए । वार्ताबारे अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई जानकारी दिइएको थियो र तालिबानसँगको वार्तालाई अगाडि बढाउने लगायत ‘छलफल गरिएका सबै मुद्दाहरूमा समन्वय’ गरिरहेको रोयटर्सले स्रोतलाई उल्लेख गर्दै जनाएको छ । 

नाम नबताउने सर्तमा स्रोतले भन्यो, ‘शेख मोहम्मदले हैबतुल्लाहसँग उठाएका अन्य मुद्दाहरू छात्राहरूको शिक्षा र महिला रोजगारीमा तालिबानले लगाएको प्रतिबन्ध अन्त्य गर्नुपर्ने सवाल उठाइएको थियो ।’

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १२:०५
Weather Update