News Griha :: न्यूजगृह
बालेनले बुझाए स्वास्थ्यमन्त्रीलाई छुट सुविधा नदिने अस्पतालको सूची

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई कानुनअनुसार दिनुपर्ने छुट सुविधाको विवरण उपलब्ध नगराउने ६८ वटा अस्पतालको सूची बुझाएका छन् ।

मंगलबार स्वास्थ्यमन्त्री बस्नेतलाई भेटेर सूची बुझाएको र कारबाहीको दायरामा ल्याउन आग्रह गरेको साहले बुधबार बिहान सामाजिक सञ्जालमार्फत बताएका छन् ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अटेर गर्ने काठमाडौं महानगरपालिकाभित्रका ती अस्पतालाई कारबाहीको दायरामा नल्याइए महानगर आफैं अग्रसर हुने मेयर साहले बताएका छन् ।

‘नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्यसम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको छ । स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्यसम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउनेतर्फ मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै काठमाडौं महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने  ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौं,’ मेयर साहले फेसबुकमा लेखेको छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ०९:२०
Weather Update