News Griha :: न्यूजगृह
ठाकुरराम क्याम्पसमा विवादसँगै आगजनी

पर्सा — स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिँदै गर्दा वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा शुक्रबार विवाद उत्पन्न भएको छ । आक्रोशित विद्यार्थीहरुले क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखामा शुक्रबार आगजनीसमेत गरेका छन् ।

आगजनीबाट कोठामा रहेको केही कागजपत्र जलेर नष्ट भएका छन् । आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले अखिल क्रान्तिकारीका शिवम साह, अनेरास्ववियुका अभिषेक चौहान र सुजित गिरीलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दिपक गिरीका अनुसार क्याम्पस प्रमुख आफैंले रिहा गरिदिन आग्रह गरेपछि तीनै जनालाई साँझ रिहा गरिएको छ ।

क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखाको झ्याल खुला रहेको फाइदा उठाएर विद्यार्थीहरुले प्लाष्टिकको बोतलमा प्रज्वलनशील पदार्थसहित आगो लगाएर फालिदिएका थिए । कक्षामा केही कागजपत्र जलेको र आगो निभाउने क्रममा थप केही कागज भिजेको क्याम्पस प्रशासनले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले प्रारम्भिक मतदाता नामावली प्रकाशन गर्दा फर्जी नाम समावेश गरेको भन्दै विद्यार्थी समूहले विवाद गरेका थिए । करिब ८ सय विद्यार्थीको फर्जी नाम नामावलीमा समावेश गरेको भन्दै विद्यार्थी नेताहरू आक्रोशित भएका थिए । क्याम्पसस्थित निर्वाचन अधिकृतको कार्यालयले फागुन २१ गते १० हजार ६ सय २१ जनाको नामावली प्रकाशन गरेको थियो । बिहीबार दाबी विरोध गर्ने क्रममा विद्यार्थी नेताहरुले मतदाता नामावलीमा नहुनुपर्ने विद्यार्थीको समेत नाम समावेश गरेको थाहा पाएपछि विवाद उत्पन्न भएको थियो ।


फर्जी नाम समावेश भएको घटनाबारे छानबिन समिति गठन गरेर छानबिन गर्नुपर्ने, लापर्बाही गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने, निष्पक्ष निर्वाचन गराउनुपर्ने माग विद्यार्थी नेताहरुको थियो । उनीहरुले विद्यार्थी कल्याण परिषद तथा निर्वाचन अधिकृतको राजीनामासमेत मागेका थिए ।नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस एकाई समितिका निवर्तमान इकाई सभापति मनोज साहले घटनाबारे छानबिन हुनुपर्ने, गल्ती गर्ने कर्मचारीलाई कारबाही हुनुपर्ने र निष्पक्ष निर्वाचन हुनुपर्ने माग आफूहरुले राखेको बताए ।

निर्वाचन अधिकृत रोशन लामिछानेले मतदाता नामावलीमा देखिएको त्रुटी छानबिन गर्न समिति गठन गरिएको बताए । सहप्राध्यापक रघुनाथ प्रसाद चौरसीयाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिमा निर्वाचनमा सहभागी हुनका लागि दर्ता भएका ३५ वटा विद्यार्थी संघ, संगठन तथा समूहका प्रमुख, प्राध्यापक, कर्मचारीको वैचारिक संगठन, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि सदस्य रहेका छन् । समितिले फागुन २९ भित्र निर्वाचन अधिकृतको कार्यालयलाई प्रतिवेदन दिनेछ । त्यसैको आधारमा निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गर्ने निर्णय भएको लामिछानेले बताए । उनले विवाद समाधान नभएकोले शुक्रबार मनोनयन पत्र वितरण गर्ने कार्यक्रम समेत स्थगित गरिएको बताए ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १९:१७
Weather Update