News Griha :: न्यूजगृह
सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी आह्वान

काठमाडौं— संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ ।

समितिले बुधबार सूचना प्रकाशित गर्दै प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस भएका कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो ।

समितिले कार्कीलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवम् सबुत प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ ।

२६ जेठसम्म कार्यालय समयभित्र इमेलबाट वा सोझै समितिमा आई सूचना वा उजुरी दिन सकिने समितिले जनाएको छ ।

सूचनादाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्टरूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचनादाताको नाम गोप्य राखिने समितिद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

समितिको मंगलबार बसेको बैठकले कार्कीको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । बैठकले प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिन आह्वान गर्ने निर्णय गरेको थियो ।

गत २५ वैशाखमा संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीश पद करिब १५ महिनादेखि रिक्त छ ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ०९:०६
Weather Update