News Griha :: न्यूजगृह
प्रधानमन्त्रीले ईपीजी प्रतिवेदन कार्यान्वयनमा जोड दिनुपर्छ : एमाले महासचिव पोखरेल

काठमाडौं— नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका क्रममा ईपीजी प्रतिवेदन कार्यान्वयनमा जोड दिन सुझाव दिएका छन् ।

मंगलबार नेकपा एमाले सम्पर्क समन्वय समितिद्वारा च्यासलमा प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको राष्ट्रिय सरोकारका विषयबारे छलफलमा उनले ईपीजी प्रतिवेदनको कार्यान्वयनका निम्ति दबाब सृजना गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने,‘ईपीजीको प्रतिवेदन बुझ्ने र त्यसलाई कार्यन्वयन गर्ने प्रक्रियामा नेपालको तर्फबाट विषेश जोड हुनु पर्दछ । नेपालको हितको सर्वाधिक महत्त्वको विषय ईपीजीको प्रतिवेदनलाई औपचारिकता दिने, त्यसको आधारमा नयाँ सम्बन्ध कायम गर्ने र दुई राष्ट्रबीचको छलफलका लागि प्रतिवेदन नबुझेको कारणले नै समस्या उत्पन्न भएको छ । त्यसैले प्रतिवेदन बुझाउँने भारतलाई दबाब सृजना गर्नुपर्छ ।’

जलस्रोतको विकासका विषयमा नेपालको आफ्नो राष्ट्रिय नीतिलाई केन्द्रविन्दुमा राखेर दुई पक्ष बसेर छलफल गर्न समेत आग्रह गरे ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १८:५१
Weather Update