
काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतको संसद् भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा (मुरल) राख्नु उचित नभएको बताएका छन् ।
भारतको नयाँ संसद् भवनमा काठमा कुँदिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कुपिलवस्तु पनि रहेको भन्ने कुरा सुनिएको उल्लेख गर्दै यदि त्यो सत्य हो भने उचित नहुने ओलीको भनाइ छ ।
अखिल नेपाल महिला संघले मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा उनले भारतजस्तो एउटा पुरानो, सुदृढ र नमुना लोकतन्त्र भनिएको देशले त्यस्तो व्यवहार गर्न नमिल्ने स्पष्ट पारे । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको क्रममा सो नक्सा संसद् भवनबाट हटाउने कुरा भारत सरकारसँग गर्नुपर्ने बताए ।
भारतसँग सो गल्ती सच्याउने बारेमा कुरा नगर्ने हो भने प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानुको कुनै अर्थ नहुने ओलीले बताए ।
अध्यक्ष ओलीले शक्ति राष्ट्रहरूले बलमिच्याइँ गरिरहेकाले कमजोर मुलुकहरूले न्यायको खोजी गरिरहनु परेको पनि पटकपटक दोहोर्याए ।
ओलीको बोली : ‘अहिले आइराख्या छ नि । लुम्बिनी, कपिलवस्तु भारतको नक्सामा पारेर संसद् भवनमा काठमा कुँदेर संसद्ले राख्यो भनेपछि योभन्दा सानो छिमेकीलाई मैले देखेको छैन । सुनेको छु । भारत सरकारले होइन, हटायो भने, होइन भनेर खण्डन गर्यो भने अथवा त्यो हटायो भने वा गल्ती महसुस गर्यो भने त्यो आफ्नो ठाउँमा छ ।
तर, नेपालको भूमि आफ्नो नक्साभित्र हालेर संसद् जस्तो ठाउँमा भारतजस्तो एउटा पुरानो, सुदृढ, नमुना लोकतन्त्र भनिएको देशले त्यो व्यवहार गर्छ भने त्यसलाई उचित भन्न सकिँदैन ।
प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस् । त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ । यतिकुरा गर्न सक्नुहुन्न भने अनि भारत भ्रमणमा किन जाने ?’