
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्याउने बताएका छन् ।
मङ्गलवार पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर लगायतका हत्याकाण्डको अनुन्सन्धान गरी निचोडमा पुग्ने बताए ।
२०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरण बारेमा खोजीनीति गर्ने प्रतिवद्धता पनि प्रधानमन्त्री दाहालले गरे ।
उनले भने, ‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरू खोलिनेछन् । क्रमशः खुल्छन् । खुलाइन्छन् । मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरूको बारेमा खोजीनीति गरिन्छ । ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजीनीति गरिन्छ । ठूलाठूला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डको खोजीनीति गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन । नेपाली जनताको मनमा धेरै ठूलाठूला शङ्काहरू छन् । के भएको हो भन्नेकुराको सत्यतथ्य आएको छैन । यी सबैकुरा पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ । अब केही हुन्छ र हुनसक्छ भनेर ।’