News Griha :: न्यूजगृह
गणतन्त्र दिवसमा राप्रपाको उद्घोष : २०८४ सम्म राजसंस्था फर्किन्छ

पोखरा— राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले ३४औँ स्थापना दिवस मनाएको छ । सोमबार पार्टी कार्यालयमा एक विशेष कार्यक्रमका आयोजना गरी राप्रपा कास्कीले स्थापना दिवस मनाएको हो । 

गणतन्त्र दिवसकै दिन परेको पार्टीको स्थापना दिवसमा राप्रपा कास्कीले राजसंस्था चाँडै फर्कने उद्घोष समेत गरेको छ । २०८४ सम्म राजसंस्था नेपालमा फर्किने पार्टीले दाबी समेत गरेको छ । 

राप्रपा गण्डकी प्रदेशका अध्यक्ष एवम् गण्डकीका निवर्तमान शिक्षा, स्वास्थ्य सामाजिकमन्त्री पञ्चराम गुरुङले गणतन्त्र केही व्यक्ति र पार्टीहरुका लागि मागी खाने भाँडो मात्र भएको बताए । ‘गणतन्त्रको नाम दिएर देशलाई लुटिखाने भाँडो बनाए । त्यसैले सबैभन्दा गज्जबको तन्त्र राजसंस्था नै थियो भन्ने जनताले बुझिसकेका छन्,’ उनले भने । 

त्यस्तै, राप्रपाकी गण्डकी प्रदेश सांसद विन्दु पहाडी पौडेलले गणतन्त्रले देशमा विभाजन ल्याएको बताइन् ।  ‘जाति र धर्मका नाममा देश टुक्राउने खेल भएको छ । यसमा हामी सचेत हुनुपर्छ । देश जोगाउने जिम्मेवारी अब राप्रपाको काँधमा आएको छ । सबै एकजुट भएर लाग्नुको विकल्प छैन,’ उनले भनिन् । 

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यहरु डा.महेन्द्रबहादुर कार्की, जयलाल पुनले, नेतृ सुशीला केसी अधिकारीलगायतले गणतन्त्र देशका लागि घाँडो बन्दै गएको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा राप्रपा महिला संघकी केन्द्रीय महासचिव रञ्जु सेन, राप्रपा भूपूसैनिक संघका अध्यक्ष गणेशबहादुर पौडेल क्षेत्री, राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङ लगायतले बोलेका थिए । राप्रपाको स्थापना ३४ वर्ष अघि १५ जेठ २०४७ मा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १३:१८
Weather Update