
काठमाडौं— परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने दाबी गरेका छन् ।
प्रधानमन्त्रीको भारत भ्रमण १७ देखि २० जेठसम्म हुँदैछ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई लिएर मंगलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भारत भ्रमणका क्रममा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने बताए । उनले भ्रमणका क्रममा व्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग लगायतका मुद्दाहरूलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
भ्रमणमा नेपालमा जलविद्युत् उत्पादन बढाउने र उत्पादनमा भारतीय लगानी सुनिश्चित गर्नेकुरालाई मुख्य जोड दिइने उनको भनाइ छ । भारतीय भूमि प्रयोग गरी बंगलादेशमा ऊर्जा व्यापार गर्नेकुरामा भारतको सहयोग लिने भ्रमणको मुख्य विषय रहेको उनले बताए ।
मन्त्री साउदले सरकारले भारतसँग गरेका सम्झौताहरूको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने सम्झौता गरेका कुराहरूको पूर्ण कार्यान्वयन हुने ग्यारेन्टी गरे ।
कार्यान्वयनको सुनिश्चित गर्न नसके भ्रमणमा भएका सम्झौताको कुनै अर्थ नरहने भन्दै भारतसँग बढाइएका एजेण्डाहरूको पूर्ण कार्यान्वयन हुने अपेक्षा रहेको उनले बताए ।
उनले भ्रमणका क्रममा पञ्चेश्वर परियोजना निर्माणदेखि पञ्चेश्वर बहुउद्देश्य आयोजनाको डीपीआर पनि अघि बढाउन प्रस्ताव राख्ने बताए । ‘पञ्चेश्वर बहुउद्देश्य आयोजनाको डीपीआर पनि अघि बढाउने हामी प्रयत्न गरिरहेका छौँ । बनेको खण्डमा एसियाकै दोस्रो ठूलो थ्री गर्जेजपछिको ठूलो प्रोजेक्ट भएको हुनाले यसमा ह्युज लगानीको पनि केही ठूलो आवश्यकता हुन्छ । त्यो लगानीका लागि पनि अलिकति समय लाग्छ,’ उनले भने, ‘केही सानोतिनो टेक्निकल चिजहरू हाम्रो बीचमा छ, त्यसलाई पनि समाधान गरेर लैजाने बाटोमा छौँ, अन्य ठाउँमा पनि हाम्रा रोकिएका कुराहरूलाई निरन्तरता दिने पक्षमा छौँ ।’
मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँगका केही असमझदमारीलाई हटाउने बारेमा पनि छलफल हुने बताए ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा.प्रकाशशरण महत, ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल जानेछन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ ।