News Griha :: न्यूजगृह
आरक्षणको व्यवस्थालाई पूर्ण कार्यान्वयनमा ल्याउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले ग्यारेन्टी गरेको आरक्षणको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन् ।

‘महिला हक अधिकार : सबैको साझा सरोकार’ भन्ने नाराका साथ मंगलबार (जेठ १६) मनाइँदै गरिएको पाँचौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

‘नेपालको संविधान २०७२ ले महिलाहरूलाई राज्यका हरेक निकायमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ, संविधानले ग्यारेन्टी गरेको आरक्षणको यो व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनु आजको आवश्यकता हो । यसका लागि विभिन्न नीतिगत तथा संस्थागत प्रयासहरू भइरहेका छन्, यति हुँदाहुँदै पनि महिलाहरू तुलनात्मक रुपमा सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक एवम् आर्थिक रूपमा पछाडि परेका छन्’, राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन् ।

उनले लैङ्गिक समानता तथा महिलाको हकअधिकार सुनिश्चित गर्न योगदान गर्ने सम्पूर्ण अग्रजहरूलाई स्मरण गर्दै आभारसमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०६:०१
Weather Update