काठमाडौं— नेकपा एमालेका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकको अर्थतन्त्रका समस्यालाई देख्न नसकेको प्रतिक्रिया दिएका छन् ।
संघीय संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने,‘आगामी आवको बजेटले अहिलेको समस्या समाधान गर्न सक्दैन । यो बजेट समग्रतामा भन्दा आधारभूत सिद्धान्तमाथि उभिएर आएकै छैन ।’
एमाले नेता गोकुल बाँस्कोटाले बजेटप्रति प्रतिक्रिया दिँदै भने,‘सुन्दा मजा लाग्ने, परिणाम केही पनि अनाउने खाल बजेट आएको छ ।’
उनले आन्तरिक ऋण व्यापक उठाउने भनिएको तर वैदेशिक ऋणको केही कुरा नगरिएको बताए । बजेटमा त्यसमा अनुदानको पनि खासै कुरा नगरिएको र रणनीतिक सडक सञ्जालबारेमा प्रष्ट कुरा नभएको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संकटको बेलामा आएको हुनाले बजेट ठीक रहेको प्रतिक्रिया दिए । ‘कार्यान्वयन पक्ष फितलो देखिन्छ । कार्यान्वयन पक्षमा ध्यान दिनुपर्छ’,उनले भने ।