
यो लोकतन्त्र भनेको के हो ? यसभित्र के पर्छ ? आम नागरिकका हक अधिकारलाई राज्य प्रशासकद्धारा कुण्ठित गर्नु हो ? वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गर्नु हो ? जनताको बोली दबाएर निरंकुश शासन लाद्नु हो ? होइन भने बानेश्वरमा शाही शासनको झल्को देखियो । नागरिकको बोलीमाथि ताला लगाउन राज्य प्रशासनबाट आदेश उर्दी देखियो ।
पछिल्लो समय, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको विरोध भइरहेका छन् । खेल मैदानदेखि चोक—चोकमा प्रधानमन्त्री प्रचण्डविरुद्ध नारा लागिरहेका छन् । २ चैतमा नेपाल र युएईबीचको क्रिकेट हेर्न त्रिवि क्रिकेट मैदानमा पुगेका प्रचण्डविरुद्ध नारा लागेको थियो ।
काठमाडौंको मुटु मानिने बानेश्वरमा, मंगलबार यस्तै भयो । ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले सुप्रिमो प्रचण्डविरुद्ध आवाज निकाले । त्यतिबेलाको दृश्य भने निरंकुशतन्त्रको देखियो । जुन अहिले बहसको बिन्दुमा पुगेको छ ।
प्रचण्डविरुद्ध बोलेका युवालाई प्रहरी प्रशासनले यसरी कब्जामा लियो कि यो देशमा, शासकका कुर्तुतबारे बोल्न बन्देज गरिएको छ । बोलेपछि ‘घोक्रो समातेर, हात बाँधेर, चरम यातना दिएर जेल चलान गर्नु’ भनेर श्री ५ महाराजधिराज सरकारबाट हुुकुम जारी भएको छ ।
होइन भने बानेश्वरमा देखिएको दृश्य लोकतन्त्रविरुद्ध छ । संविधानविरुद्ध छ । नागरिक हकविरुद्ध छ । अधिकारविरुद्ध छ । विचार र अभिव्यक्तिको स्वतन्त्रताविरुद्ध छ । लोकतान्त्रिक दस्तावेजविरुद्ध छ ।
यसरी नागरिक अधिकारलाई सरकारले खोस्न र कुण्ठित गर्न खोज्यो भने परिणाम फरक मात्र हुँदैन । ज्ञानेन्द्रलाई गद्दीबाट गलाउने नागरिकले प्रचण्ड सरकारविरुद्ध बालुवाटार घेर्दैनन् भनेर भविष्यवाणी गर्न सकिँदैन ।