
काठमाडौं— वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ भएको छ ।
योजनाको बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरे । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाईसमेत कोषमा आवद्ध गराएर योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गरिएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।
श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृती नवीकरण गर्ने बेला र नविकरण गर्ने बेला नभएकाहरु पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत सहभागी हुन सकिने कोषले जनाएको छ । कोषका अनुसार त्यसका लागि हरेक महिना २ हजार २ रुपैयाँ बुझाउनुपर्छ । यो रकम एकमुष्ट पनि बुझाउन सकिन्छ । सात महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत छुट पाइने छ ।
खल्ती, इसेवा र कनेक्ट आईपीएसमार्फत नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ । कोषमा अहिलेसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आवद्ध भइसकेका छन् ।
कोषमा ३० अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ । कोषले योगदानकर्तालाई तीन अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । २०७५ मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो ।
यो योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक लाभान्वित हुने विश्वास छ ।













