
कैलाली— राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको म्याद सकिन लागिसक्यो । तर निर्माण सुरु भएको एक दशक बढी भइसक्दा पनि प्रगति भने न्यून छ ।
३८ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०६८/६९ मा परियोजना सुरु भएको हो । विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भइरहेको परियोजना सम्झौता अनुसार आर्थिक वर्ष २०८०/८१ मा निर्माणनसम्पन्न हुनुपर्ने हो । परियोजनाको अहिले रानी, जमरा र कुलरिया गरी तीन खण्डमा काम भइरहेको छ । तर कामको प्रगति सन्तोषजनक छैन ।
जमरा खण्डको कामले सुरुदेखि नै गति लिएको भए पनि रानी र कुलरिया क्षेत्रको कामबाट आयोजनाकै अधिकारी पनि सन्तुष्ट छैनन् । रानी खण्डमा १८ प्रतिशत, कुलरिया खण्डमा २० प्रतिशत काम भएको छ । सबैभन्दा बढी जमरा खण्डमा ६५ प्रतिशत काम भएको आयोजनाका इञ्जिनियर प्रेम लासिवाको भनाइ छ ।
निर्माण कम्पनीको लापरबाहीका कारण काम सुस्त भएको उनको भनाइ छ । निर्धारित समयमा काम सम्पन्न नहुनेसमेत इञ्जिनियर लासिवाले बताए । ‘सबै क्षेत्रमा एकैसाथ काम सुरु भएको हो, एउटा कम्पनीले ६५ प्रतिशत काम पूरा हुँदा दुई कम्पनीको कामको प्रगति ज्यादै न्यून छ’, उनले भने, 'हामीले ताकेता गरिरहेका छौँ तर निर्माण कम्पनीले काम गर्न सकेको छैन ।’
आयोजनाको काममा लागि तीन वटा निर्माण कम्पनीले ठेक्का पाएका छन् । रानी कुलोको ठेक्का गौरीशङ्कर निर्माण सेवा र जीभीभी भारतीय कम्पनीले संयुक्तरूपमा लिएका छन् । जमराको ठेक्का रामेछाप निर्माण सेवा र कान्छाराम निर्माण सेवाले पाएका छन् भने कुलरिया खण्डमा हाइहिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । दुई वर्ष कोरोना सङ्क्रमणको कारणले काममा ढिलासुस्ती भएको र अहिले आर्थिक मन्दीका कारण काम गर्न समस्या भएको निर्माण कम्पनीहरुको दाबी छ ।













