News Griha :: न्यूजगृह
संसदीय समितिका सभापति चयनमा ढिला नगर्न  सभामुखको ध्यानाकर्षण

काठमाडौं— प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति चयनमा ढिला नगर्न राजनीति दलका नेताहरूको ध्यानाकर्षण गराएका छन् । 

कार्यव्यवस्था परामर्श समितिको सोमबारको बैठकमा सभामुख घिमिरेले समितिहरूको नेतृत्व चयन नहुँदा संसदीय कामले गति लिन नसकेको भन्दै दलहरूको ध्यानाकर्षण गराएका हुन् । 

‘संसदीय समितिहरूको नेतृत्व चयन नहुँदा कामले गति लिन सकेको छैन । ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ । उपसमितिका बैठक पनि ज्येष्ठ सदस्यको नेतृत्वमै सञ्चालन भइरहेको छ ।’ 

सभामुख घिमिरेले भने, ‘समितिमा सभापति चयन नहुँदा विधेयकहरूको छलफलले गति लिन सकेको छैन ।’

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली यही १४ जेठमा पारित भएपछि दुई संयुक्त समिति गठनका लागि बाटो खुलेको छ । 

संसदीय सुनुवाइ विशेष समितिका सदस्यहरूको मनोनयन भएपनि  सभापित चयनको प्रक्रिया अझै सुरु नहुदाँ समस्या भएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:०५
Weather Update