News Griha :: न्यूजगृह
टीकापुर घटनाका राजबन्दीहरूलाई छिट्टै रिहाइ गर्न रेशम चौधरीको माग

काठमाडौं— नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले टीकापुर घटनाका राजबन्दीहरूलाई छिट्टै रिहाइ गर्न माग गरेका छन् । 

रिहाइपश्चात् गृहजिल्ला कैलाली पुगेका उनले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग टीकापुर घटनाका राजबन्दीहरूलाई रिहाइ गर्न असोज ३ नै पर्खिनु नपर्ने बताए ।

टीकापुर घटना दुर्भाग्यपूर्ण घटना भएको भन्दै राज्यले उच्चस्तरीय छानबिन आयोग गठन गरेर धरातलमा गएर यो घटनाको छानबिन गर्नुपर्ने उनको माग छ । 

चौधरी ६ वर्षपछि सोमबार बिहान जेलमुक्त भएका हुन् । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी दिएपछि डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।

रेशमलाई डिल्लीबजार सदरखोरबाट उनका बुबा लालबीरको जिम्मा लगाएर पठाइएको थियो । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १४:४३
Weather Update