News Griha :: न्यूजगृह
सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार ९२० उजुरी

सर्लाही— मिटरब्याजीविरुद्ध सर्लाहीमा  एक हजार नौ सय २० उजुरी परेका छन् ।

सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि एक हजार नौ सय २० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । उजुरी परेका साहुकारहरूलाई मङ्गलबारदेखि जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्ने माथि सम्पत्ति शुद्धीकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 

‘मिटरब्याजी साहुले लिएको ऋण भन्दा बढीको कागज बनाएको र ऋण तिरेपछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर, घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि पीडितले काठमाडौँमा पुगेर आन्दोलन गरेका थिए,’ उनले भने ।  

सरकारले अध्यादेशमार्फत अनुचित लेनदेन सम्बन्धी कानुन बनाएर उजुरी लिन सुरु गरेको थियो । जनकपुरधाममा अनुचित लेनदेन अर्थात् मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य उत्तमराज सुवेदीले गत २० बैशाखमा सर्लाहीका मिटरब्याज पीडित, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा अधिकारी, दलका प्रतिनिधि, मिटरब्याज विरुद्धका अभियन्ता लगायतसँग आवश्यक छलफल गरेका थिए । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १३:३७
Weather Update