
काठमाडौं— नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिन सरकारसँग आग्रह गरेका छन् ।
सोमबार गणतन्त्र दिवसको दिन काठमाडौंमा वामपन्थी नेता निर्मल लामा प्रतिष्ठानको नाममा छुट्टयाइएका जग्गामा वृक्षारोपण गर्दै उनले सार्वजनिक जग्गालाई नजिकका मानिसलाई दिन नहुने बताए ।
सांसद पौडेलले सरकारले सार्वजनिक जग्गाको संरक्षण कसरी गर्ने भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपर्ने बताए । काठमाडौं क्षेत्र नम्बर ५ मा सार्वजनिक जग्गा खोजेर ती जग्गाहरूको संरक्षणका लागि आफूले वृक्षारोपण गर्ने उनको भनाइ छ ।
उनले काठमाडौंको महँगो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताए । सांसद पौडेलले निर्मल लामा प्रतिष्ठानको आवरणमा व्यापारिक केन्द्र बनाउन दिन नसकिने पनि बताए । केही मानिसको स्वार्थ पूरा गर्न लामाको सम्मानित नाम बद्नाम नगर्न चेतावनीसमेत दिए ।
‘केही मानिसको स्वार्थ पूरा गर्न उहाँको सम्मानित नाम बदनाम गर्न पाइँदैन । राज्यले लगानी गरी पार्क बनाइ यसको नाम निर्मला लामा पार्क राख्छ भने आपत्ति भएन,’ उनले भने, ‘तर, यहाँ प्रतिष्ठान बनाएर सटर बनाइ केही मानिसले लाभ लिने र ४० वर्षसम्म लिजमा दिने कुरा किमार्थ स्वीकार हुँदैन ।’
सांसद पौडेलले सार्वजनिक जग्गा स्थानीय जनताको हितका लागि प्रयोग गर्नुपर्ने बताए । सरकारले नजिकका मानिसको स्वार्थ पूरा गर्नका लागि सार्वजनिक जग्गा लिजमा दिए आफू विरोधमा उत्रिने उनको भनाइ छ ।