News Griha :: न्यूजगृह
जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म गणतन्त्रको औचित्य प्रमाणित हुँदैन : प्रधानमन्त्री प्रचण्ड​​​​​​​

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको बताएका छन् । 

सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रममा उनले लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वभाविक रहेको पनि बताए । उनले महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्रै मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकता जगलाई अझ बलियो बनाउन सकिने धारणा राखे । 

संविधान र कानुनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रूपमा गर्नसक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुन नसक्ने उनले बताए । आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य प्रमाणित नहुने उनको भनाइ छ । ‘आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य पनि प्रमाणित हुँदैन,’ उनले भने । 

प्रधानमन्त्री प्रचण्डले जनताको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिबद्धताकासाथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो रहेको उल्लेख गरे । 

राजनीतिक परिवर्तनलाई अर्थतन्त्रको सबलीकरण र सामाजिक रूपान्तरणको सहयोगी हुने गरी काम गर्न जरुरी रहेको उनले बताए । 

प्रधानमन्त्री दाहालले गणतन्त्र र लोकतन्त्रप्रति वितृष्णा जगाउने काम भइरहेको भन्दै यी प्रयासहरू सफल नहुने दाबी गरे । लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र नै हुने उनको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ११:३२
Weather Update