
लाहोर— अफगानिस्तान केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पकाे असर छिमेकी देश पाकिस्तानमा समेत परेको छ ।
पाकिस्तानी समाचार संस्थाहरूको अनुसार भूकम्पबाट अफगानिस्तान र पाकिस्तानमा गरी सयौं जना घाइते भएका छन् भने भौतिक संरचनामा पनि व्यापाक क्षति पुगेको छ ।
उत्तरी पाकिस्तानको खाइबर पख्तुन्वा क्षेत्रमा भूकम्पबाट ठूलो क्षति पुगेको छ । मुख्यतः भूकम्पपछि त्यस क्षेत्रमा पहिरो जाँदा बढी क्षति भएको समाचार संस्थाहरूको भनाइ छ ।
स्वात उपत्यकामा रहेका अस्पतालमा ठूलो संख्यामा घाइतेहरू भर्ना भएको पाकिस्तानी अधिकारीहरूले जनाएका छन् ।
मंगलबार राति पाकिस्तान र ताजकिस्तानको सीमा क्षेत्र नजिक केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएपछि भौतिक क्षति भएको हो । क्षतिको थप विवरण अझै आइसकेको छैन ।
भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीदेखि चीन, ताजकिस्तान, उजवेकिस्तान, कीर्गिस्तानलगायतका मुलुकमा महसुस भएको छ ।













