
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका छन् ।
सोमबार गणतन्त्र दिवसको अवसरमा उनले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताए ।
ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको उनको भनाइ छ ।
‘लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव छ भन्ने कुरा पछिल्ला दिनका कतिपय घटनाक्रमले पुष्टि गरिसकेका छन् । संविधान र गणतन्त्र सर्वस्वीकार्य बन्दै जानु, मौलिक हकको कार्यान्वयनमार्फत जनताले पाउने आधारभूत सेवा सहज बन्दै जानु, सयौँ वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग र संस्कृतिका समुदायको अधिकार स्थापित हुँदै नेपाल राज्यप्रतिको उनीहरूको अपनत्व बलियो बन्दै जानु गणतान्त्रिक व्यवस्था संस्थागत हुँदै गएको देखिने बलिया आधार हुन्,’उनले भने ।
नेपाली जनताले इतिहासका विभिन्न कालखण्डमा गरेका बलिदानीपूर्ण सङ्घर्षको जगमा १५ जेठ २०६५ मा तत्कालीन संविधान सभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको उनको भनाइ छ ।