News Griha :: न्यूजगृह
जेलमुक्त भएलगत्तै रेशम मन्त्री क्वाटरमा

काठमाडौं– जेलमुक्त भएलगत्तै रेशम चौधरी पत्नी रञ्जिता श्रेष्ठ चौधरी भेट्न पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका छन् । ६ वर्षको कैद सजायपछि चौधरी सोमबार बिहान ७ः३० बजे जेलमुक्त भएका हुन् ।

उनको स्वागतका लागि डिल्लीबजार कारगार परिसरमा बिहानैदेखि नागरिक उन्मुक्ति पार्टीका पदाधिकारी पुगेका थिए ।

फूलमालासहित पुगेका उनीहरूले चौधरीलाई भने भेट्न पाएनन् । जेलमुक्त भए भएलगत्तै उनलाई बुबा लालबीर चौधरीले गाडीमा राखेर पुल्चोकस्थित मन्त्री क्वाटर लगेका थिए ।

उन्मुक्ति पार्टीकी महासचिव रत्न थापाले जेलमुक्त भएलगत्तै चौधरीलाई मन्त्री क्वाटर लगिएको बताइन् । उनले भनिन्, ‘रेशम चौधरी आज बिहानै जेलमुक्त हुनुभयो । स्वागतका लागि हामी कारागारको गेटमा थियौं । तर, भेट्न पाएनौं । जेलमुक्त हुन साथ उहाँलाई गाडीमा राखेर पुल्चोकस्थित मन्त्री क्वाटर लगियो । उहाँ अहिले श्रीमतीसँग हुनुहुन्छ ।’

चौधरी पत्नी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री छिन् । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षसमेत रहेकी उनी मन्त्री क्वाटर पुलचोकमा बस्दै आएकी छिन् ।

गणतन्त्र दिवासको अवसरमा रेशमलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिने घोषणा गरेका थिए । त्यसलगत्तै उनी जेलमुक्त भएका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०९:२८
Weather Update